काठमाडौं- भूकम्पबाट क्षति पुगेको रानीपोखरीको पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाले गरिरहेको काममा उपमेयर हरिप्रभा खड्गीले हस्तक्षेप गरेकी छिन्।
रानीपोखरी पुरानै स्वरुपमा नभई ऐतिहासिकता मेट्नेगरी अत्याधुनिक बनाउन लागिएको भन्दै सम्पदाप्रेमी स्थानीयको अगुवाई गर्दै गएकी खड्गीले मंगलबार बिहान मूलगेटमा तालाबन्दी गरेकी हुन्।
मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी पुनर्निर्माणमा एकलौटी काम गरेको आरोप लगाउँदै उपमेयरले कंक्रिटको पर्खाल लगाएर व्यापारिक प्रयोजनसहित निर्माण गरिन थालेपछि त्यस विरुद्ध कदम चाल्ने प्रतिबद्धता जनाउँदै आएकी थिइन्। उनले आफूलाई रानीपोखरी पुनर्निर्माण सम्बन्धी छलफलमा भाग लिने अवसर समेत नदिएको आरोप लगाएकी छिन्।
उपमेयर र स्थानीयवासीले मूलगेटमा ताला लगाउँदै 'सम्पदामाथि भएको अतिक्रमणको विरोधमा तालाबन्दी' गरेको भन्दै सम्पदाप्रेमी काठमाडौंवासीको नाममा सूचना समेत टाँसेका छन्।
तालाबन्दी गर्ने क्रममा भित्र काम गरिरहेका कामदारहरुलाई बाहिर निकालिएको थियो। भात पकाएर खान ठिक्क परेका बेला आफूहरुलाई बाहिर निकालेर ताला लगाइएको कामदारहरुले बताएका छन्। उनीहरु अन्योलपूर्ण अवस्थामा गेट बाहिर बसिरहेका छन्।
यसैबीच उपमेयर खड्गीले तालाबन्दी गरेर काममा अवरोध गरेको खबर पाएपछि मेयर शाक्य मध्याह्न साढे १२ बजे रानीपोखरी पुगेका छन्।

रानीपोखरी ऐतिहासिक स्वरुप विपरीत निर्माण गर्ने तयारी गर्दै काम सुरु गरिएपछि संरक्षणविद्, संस्कृतिकर्मी र स्थानीयवासीले यसको तीव्र विरोध गर्दै आएका छन्। तर, विरोधकै बीच महानगरले काम अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।