पोखरा- ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिकाको छोम्रोङमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरण सुरु भएको छ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा शुरु भएको सो महोत्सव पुस १५ गतेसम्म चल्नेछ।
महोत्सवको कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद जगत विश्वकर्माले सोमबार उद्घाटन गर्दै अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गलाई थप व्यवस्थित गर्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
छोम्रोङ र उरी जोड्ने गरी रोप वे निर्माणका लागि अध्ययन थाल्न योजना ल्याउने पनि उनले बताउनुभयो।
युवा संघ नेपालका केन्द्रीय अध्यक्ष एवं क्षेत्र नं ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य राजीव पहारीले विश्वकै पर्यटकीय गन्तव्य बोकेको पोखरा र यस आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विविध कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरे।
युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेलकुद क्षेत्र पर्यटन प्रवर्द्धनको मेरुदण्ड भएकाले यस क्षेत्रलाई ‘हाई अल्टिच्युड’ खेलकुद केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिँदै पोखरालाई खेलकुदको राजधानी बनाउने योजना अघि बढिरहेको जानकारी दिए।
महोत्सवमा खुला महिला तथा पुरुष भलिबल, बास्केटबल प्रतियोगिता, विशेषज्ञ चिकित्सकहरुद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, घैँटो फुटाउने प्रतियोगिता, पर्यटनसम्बन्धी डकुमेन्ट्री प्रदर्शन, सिर्जनशील कलाकार समूह पोखराको सहभागितामा कला कार्यशाला र बनाइएका चित्रको प्रदर्शनी लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
पहिलो चरणअन्तर्गत गत असोज २५ गते अन्नपुर्ण आधार शिविरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सम्पन्न भएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।