नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गुजरात हिंसामा संलग्नताबारे छानबिन माग गर्ने एक प्रहरी अधिकृत ३० वर्ष पुरानो मुद्दामा दोषी ठहर भएका छन्।
गुजरातका आइपिएस अफिसर सञ्जीव भट्टलाई जामनगर अदालतले ३० वर्षपहिले हिरासतमा यातना दिएर एक व्यक्तिको हत्या गरेको अभियोगमा दोषी ठहर गरेको हो। स्मरणीय छ कि उनी मोदी पहिलो पटक प्रधानमन्त्री भएको समयमा २०१५ मा सेवाबाट बर्खास्त भएका थिए।
अदालतले उनलाई सजाय भने पछि निर्धारण गर्नेछ। यो प्रकरणमा अर्का एक प्रहरी अधिकृतलाई पनि अदालतले दोषी ठहर गरेको छ।
गत साता उनी आफ्नो रिहाइ माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका थिए। बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर उनी सर्वोच्च पुगेपछि उनी रिहा हुन सकेनन्। सर्वोच्चले अदालतमा मुद्दा फैसलाको चरणमा रहेको भन्दै तारेखमा छोड्न अस्वीकार गरेको थियो।
भट्टले यो प्रकरणमा आफूलाई फसाइएको भन्दै आएका छन्। यो प्रकरणमा आफूबाहेक ११ अरु साक्षीहरुलाई सोधपुछ नगरिएको उनको आरोप छ।
भट्ट गुजरात काडरमा आइपीएस अधिकारी थिए। २००२ मा गुजरातमा दंगा भएको थियो। उक्त समयमा गुजरातको मुख्यमन्त्रीको रुपमा नरेन्द्र मोदी शासन गरिरहेका थिए। यो घटनामा मुख्यमन्त्रीकै संलग्नता रहेकोले छानबिन हुनुपर्ने माग भट्टको थियो।
२०१५ मा गुजारात सरकारले उनलाई बिना कारण निलम्बित गरेको थियो। सर्वोच्चमा दर्ता भएको निवेदनमा भट्टले तत्कालीन मुख्यमन्त्री तथा प्रधानमन्त्री मोदीमाथि पुन: स्वतन्त्र रुपमा छानबिन हुनुपर्ने माग गरेका थिए। २००२ मा भएको दंगाको सत्यतथ्य जाँचका लागि गठन भएको विशेष जाँच दल (एसआइटी) प्रति भरोसा नभएकाले फेरि छानबिनको आदेश गर्न सर्वाेच्चको निवेदनमा माग गरिएको थियो। सर्वोच्चले यस्तो स्वतन्त्र समिति निर्माण गरी छानबिन गर्न आदेश दिनुपर्ने उनको माग थियो।
१९९० मा भारत बन्दको समयमा जामनगरमा भएको हिंसामा एक व्यक्तिको मृत्यु भएको थियो। उक्त समयमा उनी त्यहाँको एसएसपीको रुपमा कार्यरत रहेका थिए। हिंसा भएपछि प्रहरीले सय जनालाई पक्राउ गरेको थियो।
पक्राउ परेका मध्ये प्रभुदास माधवजीको अस्पतालमा मृत्यु भएको थियो। प्रभुदासका भाइ अमरुत वैष्णवीले प्रहरीको यातनाका कारण आफ्नो दाजुको मृत्यु भएको भन्दै जाहेरी दिएका थिए।
आइआइटी मुम्बईबट पोस्ट ग्र्याएट गरेका भट्ट १९९८ मा भारतीय प्रहरी सेवामा प्रवेश गरेका थिए। पछिल्लो २३ वर्षमा धेरै राज्य र आयुक्त कार्यालयमा उनले काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।