बनेपा- धुलिखेलका होटलले क्रिसमसदेखि लागू हुनेगरी पर्यटकका लागि विशेष ‘प्याकेज कार्यक्रम’ ल्याएका छन्।
क्षेत्रीय होटल संघ (हान) धुलिखेलले ‘क्रिसमस डे’ को अवसरमा अंग्रेजी नयाँ वर्षका लागि आन्तरिक तथा बाह्य पर्यटकका लागि खानामा १५ प्रतिशत र आवासमा ३० प्रतिशत छुटको प्याकेज कार्यक्रम घोषणा गरेको हो। संघले पर्यटकको सुविधाका लागि धुलिखेल नगरपालिका ७ मा पर्यटन सूचना केन्द्रको स्थापना समेत गरेको छ।
हान धुलिखेलका अध्यक्ष तथा धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकाजु (श्रेष्ठ)ले भने, 'आन्तरिक तथा बाह्य पर्यटकलाई सहुलियतमा धुलिखेलमा आवास र खाना उपलब्ध हुनेछ।'
आन्तरिक पर्यटक एक जोडीका लागि १५ हजारको ‘कक्टेल डिनर’ अब नौ हजार रुपैयाँमा उपलब्ध हुनेछ भने बाह्य पर्यटकका लागि ३० प्रतिशत छुट दिइनेछ। यस्तै, एक हजार ५ सय पर्ने खाना ८ सयमै पाइने श्रेष्ठले जानकारी दिए।
अंग्रेजी नयाँ वर्षका लागि धुलिखेलमा विभिन्न कार्यक्रमको तयारी समेत गरिएको छ। हान धुलिखेलसँग आबद्ध भएका होटल धुलिखेलमा २५ र नगरकोटमा १० वटा छन्।
क्रिसमसमा होटल सुनसान
धुलिखेलमा रहेका विभिन्न होटल आज क्रिसमसको दिन सुनसान जस्तै देखिएका छन्।
अधिकांश बाह्य पर्यटक क्रिसमस मनाउन स्वदेश फर्केका कारण सुनसान भएको हान धुलिखेलका अध्यक्ष श्रेष्ठले बताए। आन्तरिक पर्यटकको भने चहलपहल देखिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।