काठमाडौं- मंगलबारदेखि कर्णाली नदीमा १० जना सवार बेपत्ता जिप खोज्न सशस्त्र प्रहरी बल (एपिएफ)को गोतोखोर टोलीले उद्धार कार्य जारी राखेको छ।
दुर्घटना भएको ३० घन्टा बितिसक्दा पनि जिप फेला पार्न सकिएको छैन।
बुधबार बिहान विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको कमान्डमा गोताखोरको टोली घटनास्थलतर्फ पुगेको थियो।
नेपाली सेनाको हेलिकोप्टरबाट घटनास्थलतर्फ पुगेको सो टोलीले जिपको खोजी जारी राखे पनि अहिलेसम्म जिप फेला नपरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
मंगलबार मध्यान्ह १२ः१४ बजे कर्णाली नदीमा खसेको थियो।
उक्त जिपमा हुम्लाको खार्पुनाथमा गाउँपालिकाका उपाध्यक्षसहित १० जना सवार थिए।
खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहितका यात्रु रहेको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो।
तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको थियो।
दुर्घटनामा परी खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाई चन्द्र हमाल, गाडीका चालक मणि शाही, 'ढुकु भण्डारी' नामले चिनिने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालयले पुष्टि गरेको छ।
यसैगरी खार्पुनाथ गाउँपालिका-१ कि कौर कामी र उनका २ वर्षका छोरासमेत दुर्घटनामा बेपत्ता भएका छन्। दुर्घटनामा गाडीको वेल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन्। उनको नाम खुलेको छैन।
यो पनिः
हुम्ला दुर्घटना [अपडेट] : २ घन्टा बित्दा पनि फेला परेन कर्णालीमा खसेको जिप
हुम्ला दुर्घटना : बेपत्ता भएका १० जनाको पहिचान खुल्यो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।