काठमाडौं- हुम्लाको खार्पुनाथमा गाउँपालिकाका उपाध्यक्षसहित १० जना सवार जिप दुर्घटना भएको दुई घन्टा बित्दा पनि फेला पर्न सकेको छैन।
प्रहरी र नेपाली सेनाको टोलीले नदीमा २ घन्टासम्म खोजे पनि जिप फैला नपरेको हुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले बताए।
'दुर्घटना भएको ठाउँ एकदमै विकट छ। कर्णाली नदीको बहावले खोजी कार्यमा समस्या भएको छ,' उनले भने, 'अहिलेसम्म हामीले जिप नै पत्ता लगाउन सकेका छैनौं।'
खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहितका यात्रु रहेको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो। सो जिपमा कति यात्रु थिए भन्ने पुष्टि भइनसकेको प्रहरीको भनाइ छ।
तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौना भन्ने ठाउँमा पुग्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
मंगलबार दिउँसो १२ बजेर १४ मिनेटमा दुर्घटना भएर कर्णाली नदिमा खसेको थियो।
जिप बाटोबाट सिधै कर्णाली नदीमा खसेको थियो।
सेना र प्रहरीको टोली उद्धारका लागि हेलिकोप्टरमार्फत् घटनास्थल पुगेको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।