सुर्खेत- म्यादी प्रहरी मारिएको घटना छानबिनका लागि गठित सरकारी टोली कालिकोट पुगेको छ।
सरकारको उच्चस्तरीय छानबिन टोली सोमबार कालिकोट पुगेसँगै सदरमुकाम मान्ममा लगाइएको कर्फ्यु पनि हटाइएको छ। घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विक संयोजकत्वको टोली कालिकोट पुगेको हो। समितिले आजैदेखि छानबिन सुरु गर्नेछ।
नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीय नागरिकसँग छलफल गरी समितिले घटनाबारे जानकारी लिने र थप अनुसन्धान गर्ने बताइएको छ।
कर्फ्यु हटेसँगै मान्म बजारमा नागरिकको चहलपहल सुरु भएको छ।
म्यादी प्रहरीको मृत्युपछि उनका आफन्त र म्यादी प्रहरी प्रदर्शनमा उत्रिएपछि शनिबार रातिदेखि कालिकोट सदरमुकाम मान्ममा स्थानीय प्रशासनले कर्फ्यु लगाएको थियो। म्यादी प्रहरीको बिदाइ कार्यक्रममा पारिश्रमिकको विषयमा विवाद हुँदा शुक्रबार कालिकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो। सो क्रममा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो। मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सरकारले निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।