रसुवा- नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीबाट सवारीसाधन चीन प्रवेशमा रोक लगाइएको छ।
रसुवागढी हुँदै व्यापारिक प्रयोजन तथा व्यक्तिगत कामका लागि केरुङ घुम्न जाने साना गाडी तथा मोटरसाइकलमा दुई सातादेखि रोक लगाइँदा समस्या भएको छ। अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषित रसुवागढीबाट मंसिर २४ गतेदेखि साना सवारीसाधन केरुङ छिर्न पाएका छैनन्।
चीनको केरूङबाट नेपाली साना गाडी तथा मोटरसाइकलमा अवैध सुन भित्रिन थालेपछि साना सवारी सञ्चालनमा रोक लगाइएको स्रोतको भनाइ छ।
'यो नाका हुँदै साना गाडीमा सुन तस्करी बढेको भनेर गाडी प्रवेशमा रोक लगाएको भन्ने सुनिन्छ,' एक स्कारपियो चालकले भने, 'मोटसाइकल तथा साना गाडीलाई छिर्नै दिएको छैन।'
प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने भने केरुङ प्रवेश गर्ने साना सवारीसाधन रोकिएकोबारे आफूलाई आधिकारिक जानकारी नआएको बताउँछन्। 'नाकामा नेपाली साना गाडी रोकिएको भन्नेबारे मलाई कुनै जानकारी छैन,' उनले भने, 'चिनियाँ पक्षबाट पनि हामीले आधिकारिक जानकारी पाएका छैनौं।'
प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले भने चीनतर्फको बाटो मर्मत गर्नुपर्ने भएकाले चिनियाँ पक्षले नेपाली साना सवारीसाधनमा रोक लगाएको प्रतिक्रिया दिए। 'केरुङ जानैपर्ने कुनै सवारीसाधन छन् भने चिनियाँ पक्षसँग समन्वय गरेर पठाइरहेका छौँ,' उनले भने, 'नेपाल तर्फबाट हामीले रोकेका छैनौं, चिनियाँ पक्षले नै रोक लगाउने निर्णय गरेको हो।'
केरुङ जानका लागि नेपाली सवारी रोकिए पनि चिनियाँ ट्याक्सीको प्रयोग गरेर जान सकिने एक कामदारले बताए।
कामको सिलसिलामा केरुङ पुगेका उनले भने, 'जसोतसो गरेर केरुङ आइपुगेका छौं, तर पाङसिङमा कन्टेनरमा सामान लोड गर्न जाँदा नेपाली पक्षको मोटरसाइकल पनि लैजान दिएको छैन।'
सीमा सुरक्षामा खटिएको प्रहरीको अनुरोधमा केही सवारीसाधनले प्रवेश पाए पनि अहिले साना सवारी तथा मोटरसाइकल पठाउन मुस्किल परेको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ। सामग्री लिन जाने तथा ल्याउने कन्टेनर सञ्चालनमा भने रोक नलगाइएको चिनियाँ पक्षको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।