खोटाङ- कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको नयाँ भवन उद्घाटन गरिएको छ।
करिब रु दुई करोडको लागतमा निर्माण गरिएको कोलेनिकाको तीनतले नयाँ भवन महालेखा नियन्त्रक रामकुमार आचार्यले आइतबार उद्घाटन गरे।
ठेकेदार कम्पनी श्रीजयन्ती-एडी-जगदम्बा जेभी बौद्ध–६ काठमाडौँले तीन वर्ष लगाएर निर्माण गरेको नयाँ भवन गत जेठ १ गते हस्तान्तरण गरिएको कोष नियन्त्रक लालबहादुर केसीले बताए।
भाडाको कोठाबाट सञ्चालन हुँदै आएको कोलेनिकाका लागि स्थानीय समाजसेवी चन्द्रबहादुर कार्कीले ३२ लाख बराबरको १० आना जग्गा निःशुल्क दिएपछि आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिएको हो।
रु एक करोड ८३ लाख २३ हजारमा पूरा गर्नेगरी ठेकेदार कम्पनीले २०७२ मंसिर १२ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७१ भदौ १३ गते सम्झौता गरेको थियो। दुई करोड १९ लाख तीन हजार ४१५ रुपैयाँ ८८ पैसामा टेन्डर आह्वान भएकोमा २५ दशमलव ९७ प्रतिशतले घटेर ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।