बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिन पिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच टेलिफोन वार्ता भएको छ। मंगलबार उनीहरुबीच वार्ता भएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।
कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले जापानको ओसाकामा हुन लागिरहेको जी-२० सम्मेलनका दौरानमा भेट्न चाहेको बताएका छन्। सो क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र पछिल्ला घटनाक्रमका बारेमा गम्भीर वार्ता गर्न चाहेको ट्म्पले सीसँग बताएका छन्।
चीन-अमेरिका व्यापार युद्धका विषयमा पनि ट्रम्पले चासो राखेका बताइएको छ। 'चीनसँगको आर्थिक र व्यापार साझेदारीका बारेमा अमेरिका जानकार छ,' ट्रम्पले भने, 'मलाई विश्वास छ, पछिल्लो समय दुई देशका अधिकारीबीच लगातार भइरहेको वार्ता र छलफलले अहिले रहिआएको विवादलाई जतिसक्दो छिट्टै नै अन्त्य गर्नेछ।'
ट्रम्पले चीन र अमेरिकाबीच सम्झौता र सहमति भएको हेर्ने विश्वको इच्छा रहेको समेत बताएका छन्।
उता राष्ट्रपति सीले अमेरिका र चीनबीचमा पछिल्लो समयमा केही अप्ठेराहरु देखिएको भन्दै यो दुवै पक्षको हितमा नभएको जिकिर गरे।
'दुवै देश सहयोगबाट लाभान्वित र टकरावबाट हार्छन्,' सीले भने, 'यसअघि भएको सहमतिअनुसार दुवै पक्षले अमेरिका-चीन सम्बन्धलाई आपसी सम्मान र पारस्परिक लाभका आधारमा समन्वय, सहयोग र स्थिरतातर्फ लानुपर्छ।'
विश्वका दुई ठूला अर्थव्यवस्थाको रुपमा चीन र अमेरिकाले संयुक्त रूपमा जी-२० ओसाका शिखर सम्मेलनबाट निस्किएका सकारात्मक परिणामलाई अगाडि बढाउन प्रमुख भूमिका निभाउनुपर्ने बताउँदै सीले भने, 'जसले विश्व बजारलाई आत्मविश्वास र शक्तिले जोड्ने काम गर्दछ।'
चिनियाँ राष्ट्रपति सीले ओसाका समिटमा दौरानमा आफू ट्रम्पसँग भेट्न तयार रहेको बताएका छन्।
उनले दुई देशबीच रहिआएको विवादलाई दुवै पक्ष मिलेर छलफलका माध्यमबाट सुल्झ्याउनु पर्नेमा जोड दिएको बताइएको छ। उनले चीनका सामाग्रीमा रहिआएको अमेरिकी कर वृद्धिको निर्णयमा समेत ट्रम्प प्रशासनले उचित निर्णय लिनेमा समेत आशावादी भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।