चीन- चीनमा सोमबार राति गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार हालसम्म करिब २ सय मानिस घाइते भएका छन्।
देशको सिन्चुआन प्रान्तमा मंगलबार राति ६ म्याग्नेच्युडको भूकम्प गएको चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) ले जनाएको छ। भूकम्पको धक्का स्थानीय समयानुसार राति १०ः५५ मा महशुस गरिएको थियो।
भूकम्प लगत्तै चिनियाँ अधिकारीहरुले खोजी तथा उद्धार कार्य सुरु गरेका थिए। सो घटनापछि राष्ट्रपति सी चिन पिङले दुःख व्यक्त गर्दै उद्दारमा खटिन सम्बन्धित सबै अधिकारीहरुलाई निर्देशन दिएका थिए।आपत्कालिन व्यवस्थापन मन्त्रालयले घटनास्थलमा आपत्कालिन उद्धार टोली र राहत सामग्रीहरु पठाइ सकिएको जनाएको छ।
यिविनका नगरका कार्यकारी अधिकृत ली टिंग्गिनले चांग्निङमा ९ जना र गोंगसियन काउन्टीमा ४ जनाको मृत्यु भएको जानकारी दिए। नगरका आपतकालिन उद्दार तथा व्यवस्थापन व्युरोका कार्यकारी निर्देशक ली ताइमिनले केही दुर्गम स्थानहरुमा समेत भूकम्पले क्षति पुुर्याएको र ती स्थानहरु सञ्चार सम्पर्कबाट टाढा रहेकोले पनि मृतक र घाइतेहरुको संख्या बढ्नसक्ने बताए।
भूकम्पका कारण सिचुआन प्रान्तका सडकहरु अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ। भूकम्पले १ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका र १२ हजार ७ सय घरहरु क्षतिग्रस्त भएका समेत बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।