कायरो- इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मुर्सीको अदालतमा सुनुवाईका क्रममा मृत्यु भएको त्यहाँस्थित सरकारी टेलिभिजनले जनाएको छ। सन् २०१३ मा सेनाले सत्ता हातमा लिएपछि उनलाई अपदस्थ गरिएको थियो।
समाचारमा जनाइएअनुसार ६७ वर्षीय मुर्सी अदालतको कारबाहीपश्चात् बेहोस भएका थिए। बेहोस भएको केही बेरमै उनको अदालत परिसरमा मृत्यु भएको पुष्टि भएको बिबिसीले लेखेको छ।
उनीमाथि जासुसी गरेको आरोप थियो। उनले सन् २०१२ मा कार्यकाल सम्हालेको १ वर्षपछि इजिप्टमा जनआन्दोलन सुरु भएको थियो। जनआन्दोलनकै जगमा उनलाई सेनाले नियन्त्रणमा लिएको थियो।
यसपछि इजिप्टको सेनाले मुर्सी र मुस्लिम ब्रदरहु पार्डटीका समर्थकको विरुद्धमा अभियान सुरु गरेको थियो।
मुर्सीमाथिको आरोपको सुनुवाइ राजधानी काहिरामा चलिरहेको थियो। उनीमाथि प्यालेस्टिनी इस्लामिक समूह हमाससँग जोडिएका व्यक्तिसँग जासुसीमा जोडिएको आरोपमा सुनुवाइ चलिरहेको थियो।
उनलाई एक कारगारको भ्यानमा अदालतसम्म ल्याइएको थियो। इजिप्टका सरकारी वकिलका अनुसार मुर्सीको प्राप्त मेडिकल रिपोर्टअनुसार उनको शरीरमा कुनै पनि किसिमको चोटको निशान नदेखिएको बताइएको छ।
जेलमा रहेका बेला मुर्सीको स्वास्थ्यलाई लिएर निक्कै चिन्ता जनाइएको थियो। गत वर्षको अक्टोवरमा उनका कान्छा छोरा अब्दुल्लाले समाचार एजेन्सी एपीसँग कुराकानी गर्दै भनेका थिए, 'बुवालाई जेलमा एकदमै अलग राखिएको छ। उहाँको उपचार पनि गरिएको छैन। उनलाई उच्च रक्तचाप र चिनी रोग छ।'
५ महिनाअघि मात्र अब्दुल्लाले वासिंगन पोस्ट पत्रिकासँगको कुराकानीमा इजिप्ट प्रशासन 'उनलाई मरेको देख्न चाहेको' बताएका थिए। 'सरकार बुवाको मृत्यु छिटो होस् र प्राकृतिक न देखियोस् भन्ने चाहन्छ। यसकारण पनि उहाँप्रति यस्तो फरक व्यवहार गरिएको छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।