काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्ला गुठीचौरस्थित भेंडा बाख्रा फारमको नाममा रहेको ५९० रोपनी जग्गा परिवारको नाममा नामसारी गर्ने मालपोत अधिकृतसहित १६ जना विरुद्ध भष्टाचार मुद्दा दायर गरेको थियो।
तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले ५९० रोपनी सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको भन्दै अख्तियारले उनीहरु समेतलाई विपक्षी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो।
हाल सेवा निवृत्त जुम्लाको गुठीचौर गाउँपालिका-४ बाउलीगाउँका न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्गमिटर अर्थात् ५९० रोपनी जग्गा पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तका नाममा दर्ता गराएको अख्यिारको अनुसन्धानमा खुलेपछि उनीहरु विरुद्ध विशेषमा सोमबार मुद्दा दायर गरेको हो।
राष्ट्रिय भेडाबाख्रा फार्मको विभिन्न कित्ताको २२ लाख वर्गमिटर जग्गा नापनक्सा भएकोमा सबै उनले आफ्नो परिवारको नाममा गरेको तथ्य सार्वजनिक भएको थियो।
साविक गुठिचौर गाविस-६ को कित्ता नम्बर ३ मा भेडाबाख्रा फार्मको नाममा ६ लाख २१ हजार ५२५ वर्ग मिटर जग्गा फिल्डबुकमा कायम थियो।
त्यसैमध्येको तीन लाख वर्ग मिटर (५९० रोपनी) जग्गा न्यौपानेले निजी बनाएका थिए।
मालपोत अधिकृत रहँदा न्यौपानेले गरेको बदमासी प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएर जुम्ला आएपछि रुद्रप्रसाद पण्डितले पत्ता लगाएका थिए।
उनी २०७२ चैतमा जुम्लाका सिडिओ भएका थिए।
भूमि सम्बन्धी ऐन २०२१ ले पहाडी जिल्लामा खेतीपातीको लागि ७५ रोपनी र घरबासका लागि ५ रोपनीसमेत गरी ८० रोपनीभन्दा बढी जग्गा राख्न नपाउने व्यवस्था छ।
आफ्नै जिल्लामा मालपोत अधिकृत हुन पुगेका न्यौपानेले भने श्रीमती गोमा र छोरी पार्वतीको नाममा १३८ रोपनी जग्गा दर्ता गराएका थिए।
मालपोत अधिकृतले आफ्नो र परिवारको स्वार्थ रहेको जग्गाबारे निर्णय गर्न पाउँदैनन् तर न्यौपानेले सरकारी जग्गा आफ्नो परिवारको नाममा गरेका थिए।
उनले राजश्व छली गर्ने उद्देश्यले गुठीचौरको सरकारी जग्गा १४ जनाको नाममा सिधै दर्ता गराएको देखिएको थियो।
प्रतिवेदन अनुसार न्यौपानेले १४ जनामध्ये सबैभन्दा धेरै ३५ हजार १५० वर्गमिटर जग्गा श्रीमती गोमा र त्यसपछि ३४ हजार ८५० वर्गमिटर छोरी पार्वतीको नाममा दर्ता गराएका थिए।
आफन्तमध्ये एक जनाका नाममा ३३ हजार वर्गमिटर, अर्का एक जनालाई ३२ हजार ३३५ वर्गमिटर र ६ जनाको नाममा २० हजार वर्गमिटर जग्गा दर्ता गराएका थिए। त्यस्तै, एक जनालाई १३ हजार ३ सय ३५ वर्गमिटर, एक जनालाई १३ हजार ३३० वर्गमिटर र एक जनालाई २ हजार वर्गमिटर दर्ता गराइदिएका थिए।
उनले गोमा न्यौपानेको नाममा ३५ हजार १५०, पार्वती न्यौपानेको नाममा ३४ हजार ८५०, विष्णु न्यौपानेको नाममा ३३ हजार, विजय न्यौपानेको नाममा ३२ हजार ३ सय ३५ मयलाल न्यौपानेको नाममा २० हजार, नवऋषि न्यौपानेको नाममा २० हजार वर्गमिटर नामसारी गरेका थिए।
त्यस्तै विष्णुऋषि न्यौपानेको नाममा २० हजार, घनप्रसाद न्यौपानेको नाममा २० हजार, कविदत्त न्यौपानेको २० हजार, विष्णुलाल न्यौपाने २० हजार, हरिहर न्यौपाने १५ हजार वर्गमिटर जग्गा बनाएका थिए।
त्यस्तै आफन्तहरु देवेन्द्र प्रसाद उपाध्यायको नाममा १३ हजार ३ सय ३० वर्गमिटर र जानकीदत्त देवकोटाका नाममा २ हजार वर्गमिटर जग्गा आफू अधिकृत भएको समयमा उनले पास गराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले सबै जग्गाधरीहरुलाई समेत विपक्षी बनाउँदै भ्रष्टाचार मु्द्दामा जनही १० वर्षसम्म कैद र जग्गाको मूल्य बराबर बिगो र जरिवाना गराउन माग गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।