काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक संशोधन गर्न पहल सुरु गरेका छन्।
युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री ओलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग विधेयकका विषयमा छलफल गरेका छन्। यसबारे छलफलका लागि प्रधानमन्त्री ओलीले मन्त्री अर्याललाई सोमबार बिहान बालुवाटार बोलाएका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने, 'छलफल भएको हो। विधेयक फिर्ता लिने भन्ने त हुँदैन। पहिले छलफल हुनुपर्यो नि।’
विधेयकका नकारात्मक विषयलाई मात्रै उछाल्ने कार्य भएको उनले बताए। विधेयकका भएका सकारात्मक/नकारात्मक विषयमा छलफल गर्न नै मन्त्री अर्याललाई प्रधानमन्त्रीले बोलाएको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले विधेयकका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने बताइएको छ।
आइतबार स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा गुठी विधेयक परिमार्जन गर्ने बताएका थिए।
सत्तारुढ दलका नेताहरु पनि विधेयकको विपक्षमा रहेपछि सरकारले विधेयक परिमार्जन गर्ने संकेत देखाएको छ।
नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले सोमबार साँझसम्म राम्रो परिणाम आउने आशा व्यक्त गरे। ट्विट गर्दै भट्टराई लेख्छन्, ‘गुठी विधेयकका विषयमा प्रधानमन्त्रीले थप सक्रियता बढाउनुभएको छ। आशा छ साँझसम्ममा राम्रो परिणाम आउनेछ। धमिलो पानीमा माछा मर्न खोज्नेको भागमा भ्यागुत्तो मात्र हात लाग्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।