तेह्रथुम– तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन्।
बर्सेनि उत्पादन बढ्दै गए पनि उचित बजार व्यवस्थापन नहुँदा अकबरे खोर्सानीले भाउ नपाएको किसानले गुनासो गरेका छन्। बजार भाउ घटेपछि अकबरे खोर्सानीको व्यावसायिक खेती गरिरहेका किसान निराश बन्दै गएका छन्।
गत वर्ष यो मौसममा अकबरे खोर्सानीको कारोबार प्रतिकेजी ३ सय ५० देखि ५ सय ५० रुपैयाँसम्म थियो। तर, यो वर्ष हाल १ सयदेखि १ सय ५० रुपैयाँमा मात्रै कारोबार भइरहेको छ। उत्पादन बढी भएपछि बजार मूल्य घटेको हुनसक्ने सुदापका किसान डिकबहादुर खड्का बताउँछन्।
'पहिले कमाइ राम्रो थियो, घरैमा आएर व्यापारीले खरिद गर्थ,' खड्काले भने, 'अहिले सबैले खेती गरेका छन्, उत्पादन पनि बढी छ, बजार व्यवस्थापन पनि छैन, त्यसैले मूल्य पनि कम छ।' खेती विस्तारका लागि सहयोग गर्ने तर बजारीकरणका लागि वास्ता नगर्ने चलनले बर्सेनि कृषिउपजको भाउ गिर्दै गएको उनको बुझाइ छ।
हरेक वर्ष अकबरे खोर्सानीको मुख्य उत्पादन जेठ मसान्तदेखि सुरु हुन्छ। यो वर्ष पनि सुरुआतमा हरियो खोर्सानीको कारोबार ४ सय रुपैयाँ सम्ममा भएको थियो। तर, त्यसपछि ह्वात्तै भाउ घटेर अकबरेको मूल्य १ सय रुपैयाँ प्रतिकिलोमा झरेको उनले बताए।
मूल्य घटेपछि किसानलाई मर्का परेको सुदापस्थित नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताइन्। 'समूहमार्फत हामीले सामूहिक खेती पनि गरेका छौं, घरैपिच्छे अकबरे खोर्सानीको खेती ठूलो छ,' खड्काले भनिन्, 'तर, मूल्य नपाएकाले खेती नै संकटमा परेको छ।' मूल्य घटेकाले यही खेती लगाइरहने या अर्को खेती लगाउने भन्नेबारे किसान अन्योलमा परेको उनले बताइन्।
अकबरे खोर्सानी एकपटक रोपेपछि पहिलो वर्ष सामान्य उत्पादन हुन्छ। दोस्रो वर्ष राम्रो उत्पादन हुन्छ र पाँचौं वर्षसम्म पनि उत्पादन हुन्छ। अकबरेको एउटा बोटमा जेठदेखि निरन्तर रुपमा माघसम्म फल लागिरहन्छ।
परम्परागत रुपमा घरैपिच्छे पारिवारिक प्रयोजनका लागि हुने अकबरेखेती अहिले व्यावसायिक बन्ने क्रममा छ। जिल्लाका धेरै किसानले यसको व्यावसायिक खेती गर्न थालेका छन्। जिल्लामा अकबरे खोर्सानी खेतीको विकास र विस्तारका लागि जिल्ला कृषि विकास कार्यालय र गैरसरकारी संस्थाले किसानलाई तालिम र बीउबिजनमा सहयोग गरेका छन्।
थोरै मिहिनेत र लागतबाटै राम्रो आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बाली छाडेरै अकबरे खुर्सानीको खेती थालेका हुन्। अन्नबालीभन्दा कम मिहिनेत र लागतले अकबरे खेतीबाट आम्दानी हुने देखेर व्यावसायिक खेती थालेको बताउने किसानहरु भाउ घट्न थालेपछि अन्योलमा परेका हुन्।
'धान, मकैलगायत अन्नबालीको खेतीभन्दा यो धेरै सजिलो छ,' फेदाप गाउँपालिका–२, ओयाक्जुङका चन्द्रप्रसाद ढकालले भने।
ढकालले घरमुनिको एउटा पाटोमा लगाएको अकबरे खेतीबाट यो वर्ष ५० हजारभन्दा बढी आम्दानी गरेको बताए। 'अन्नबालीबाट भन्दा अकबरे खेतीबाट बढी आम्दानी छ,' उनले भने, 'जमिन पनि धेरै चाहिँदैन, काम गर्ने जनशक्ति पनि कम लाग्छ, पाँच मुरी मकै फल्ने ठाउँमा ५० हजारको अकबरे फल्छ। तर, बजार बिस्तार हुन नसकेर यसैगरी भाउ घट्दै गयो भने चाहिँ अर्को विकल्प सोच्नुपर्ने हुन सक्छ।'
जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका सबै गाउँमा अकबरे खोर्सानीको खेती भइरहेको छ। तर, व्यावसायिक रुपमा भने छथर गाउँपलिकाको सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या र हमरजुङ, फेदाप गाउँपालिकाको ओयाक्जुङ र जलजले, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ र श्रीजुङ, म्याङलुङ नगरपालिकाको पिप्ले, आम्बुङ र जिरीखिम्ती र आठराई गाउँपालिकाको छातेढुंगा र इवामा अकबरे खोर्सानीको व्यावसायिक खेती भइरहेको छ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष तेह्रथुममा १२ करोड मूल्य बराबरको अकबरे खुर्सानी उत्पादन भएको थियो। किसानले २५ हेक्टर जमिनमा लगाएको खेतीबाट ३ सय १२ मेट्रिक टन उत्पादन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।