काठमाडौं- औषधि व्यवस्था विभागले भारतको श्रीवैद्यनाथ आयुर्वेद भवन प्रालिले उत्पादन गर्ने सात प्रकारका चूर्ण नेपाली बजारमा बिक्रीवितरण गर्न रोक लगाएको छ ।
विभागको अनुगमन टोलीले आफूले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि ती औषधिको बिक्रीवितरण रोकी बजारबाट तुरुन्त फिर्ता लिन निर्देशन दिएको हो ।
विभागका आयुर्वेद शाखा प्रमुख डा प्रकाश ज्ञवालीले ती औषधि हटाउनका लागि औषधिका आयातकर्ता र तिनका आधिकारिक प्रतिनिधिका नाममा सूचना निकाली जानकारी गराइएको बताए।
विभागले यही मंसिर ५ गते प्रालिका औषधि ऐन २०३५ को दफा १४ बमोजिम सूचना जारी गरेको हो । प्रालिका उत्पादन व्रजाक्षर चूर्ण (३० ग्रामको बट्टामा आउने), सारस्वत चूर्ण, अभिपत्तिकर चूर्ण, लवणभाष्कर चूर्ण (६० ग्रामको), सितोपलादी चूर्ण (६० ग्रामको), पञ्चष्कर चूर्ण (६० ग्रामको) र पुश्यानुग चूर्ण (केशरयुक्त)न्यून गुणस्तरका पाइएका हुन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।