काठमाडौं- काठमाडौंका विभिन्न स्थानबाट सार्वजनिक यातायातमा चोरी, लुटपाट तथा पाकेट मार्ने काममा संलग्न ८२ जनालाई पक्राउ गरिएको छ।
महानगरीय प्रहरी परिसरको टोलीबाट खटिएका सादा पोसाकका प्रहरीले सार्वजनिक सवारीमा यात्रुहरुको साथबाट नगद, मोबाइल तथा गरगहना चोरी तथा लुटपाट गर्दै गरेको अवस्थामा ८२ जनालाई पक्राउ गरिएको परिसर प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
पक्राउ पर्नेमा ७८ जना पुरुष र ४ जना महिला छन्। लुटपाटमा अधिकांश युवाहरुको संलग्नता रहेको पाइएको प्रहरी जनाएको छ।
बोगटीका अनुसार परिसरले जेठ १ देखि ३१ गतेसम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सवारीसाधनमा हुने पाेकटमार, लुटपाट र चोरीमा संलग्नलाई पक्राउ गर्ने विशेष अभियान चलाएको थियो।
पाकेटमारको साथबाट ६ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरी पीडितलाई बुझाइएको पनि उनले बताए। 'बालाजुमा पाँचथरका नागेन्द्र लिम्बुको साथबाट मात्रै २ लाख लुटिएको थियो। लुटेरासहित सो रकम फेला पारी रकम निज लिम्बुलाई फिर्ता गरिएको छ,' बोगटीले भने।
बरामद भएको ९३ हजार रुपैयाँ भने चोरीमा मुद्दा चलाई अदालतमा प्रमाणित गरी सम्बन्धितलाई फिर्ता गर्ने क्रममा रहेको पनि उनले जानकारी दिए। नगद बाहेक २१ थान मोबाइल र २ थान ल्यापटप समेत बरामद गरिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।