युरोपस्थित नेपाली राजदूतहरुको जेनेभामा प्रस्तुति सुन्दै प्रधानमन्त्री ओलीलगायत। तस्बिर : परराष्ट्र मन्त्रालय।
काठमाडौं- साताव्यापी युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपमा रहेका नेपाली राजदूतहरुलाई ‘ब्रिफिङ’ गरेका छन्।
युरोप भ्रमणको अन्तिम दिन शनिबार युरोपस्थित नेपाली कूटनीतिक नियोग तथा दूतावासका प्रमुखहरूलाई जेनेभामा प्रधानमन्त्री ओलीले ब्रिफिङ गरेका हुन्।
युरोपस्थित नेपाली राजदूतहरुको प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले केही निर्देशनसहित आफ्नो ब्रिफिङ टुंग्याएका थिए। पुरानो मानसिकता त्यागेर अझ गतिशील भएर नेपालको कूटनीतिलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्न प्रधानमन्त्री ओलीले राजूतहरुलाई निर्देशन दिएका परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले नियोग सञ्चालन, कर्मचारी व्यवस्थापन नियोगको सम्पत्ति खरिदलगायतका विषयमा अझ गतिशील र प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका थिए।
ब्रिफिङपछि प्रधानमन्त्री ओलीसँग सामूहिक तस्बिर खिचाउँदै युरोपस्थित नेपाली राजदूतहरु। तस्बिर : परराष्ट्र मन्त्रालय।
भेलामा सहभागी बर्लिन, मस्को, लन्डन, कोपनहेगन, जेनेभा र पेरिसस्थित नेपाली राजदूत तथा नियोग प्रमुखहरूले आ-आफ्नो काम र जिम्मेवारी, अहिलेसम्म हासिल भएका उपलब्धि र भावी कार्यक्रमबारे प्रधानमन्त्रीसामु आफ्नो प्रस्तुति राखेका थिए।
परराष्ट्र सविच शंकरदास वैरागीले सहजीकरण गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको परराष्ट्रनीति, यसका प्राथमिकता, सरकारका नीति, उद्देश्य, कार्यक्रम र देशले के कुराको दिशानिर्देश गरेको छ भन्नेबारेको जानकारी राजदूतहरुलाई गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।