काठमाडौं– निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका म्यादी प्रहरीको बिदाइ कार्यक्रम भने कतिपय जिल्लामा अशान्त बन्न पुगेको छ। तलब तथा सुविधा सम्बन्धी विवादले गर्दा एक जना म्यादीको प्रहरीको गोलीबाट मृत्यु नै भएको छ।
५५ दिनको जागिर सकिएपछि शुक्रबार देशभरिका प्रहरी कार्यालयले म्यादीको बिदाइ कार्यक्रम राखेको थियो। जसमध्ये अधिकांश जिल्लामा शान्तिपूर्ण ढंगले बिदाइ भयो। कालीकोटको सदरमुकाम मान्म भने रणभूमि नै बन्न पुग्यो।
सरकारले तोकेभन्दा कम तलब सुविधा दिएको भन्दै म्यादी प्रहरीले ढुंगामुडा सुरु गरेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि दिनभर कालीकोट तनावग्रस्त मात्र बनेन आक्रोशित स्थानीय र म्यादी प्रहरीले दुई वटा प्रहरी बिटमा तोडफोड र आगजनी नै गरे। कालीकोटमा थप हिंसा भड्किन नदिन सशस्त्र प्रहरी परिचालन गरिएको छ।
म्यादी प्रहरीले केही दिनअघि पर्सा र दोलखामा पनि आन्दोलन गरेका थिए। दोलखामा आन्दोलन गर्ने केही म्यादी प्रहरीहरु घाइतेसमेत भएका थिए।
गलत हल्लाका कारण केही जिल्लामा म्यादीहरुले आन्दोलन गरेको प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले बताए। हिनामिना हुन नदिन म्यादीहरुको तलब र राशनभत्ता बैंकमार्फत दिइएको थियो।
काभ्रे लगायत जिल्लामा राम्रो काम गर्ने म्यादीलाई प्रहरीले पुरस्कारसहित बिदाई गर्यो। अधिकांश जिल्लामा म्यादीहरु हाँसीखुसी बिदा भए भने केही जिल्लामा निकै असामान्य अवस्था आयो।
मंसिर १० र २१ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरी भर्ना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।