फाइल तस्बिर।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किंदै छन्। यही जेठ २५ गते स्विट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आइतबार बिहान १०ः२५ मा काठमाडौं उत्रिने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शनिबार साँझ ५ बजे स्विट्जरल्यान्डको जेनेभाबाट कतार एयरवेजको विमानमा स्वदेशका लागि प्रस्थान गरेको थियो।
प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए। २ दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत पुगेका थिए। बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए।
बेलायतमा छँदा समकक्षी थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग उनले भेटघाट गरेका थिए।
यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए।
राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी हुने विश्वास लिइएको छ।
प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।