काठमाडौं– नेपाल प्रहरीका एसपीको गाडीको ठक्करबाट ललितपुरमा स्कुटरमा सवार एक महिला घाइते भएकी छिन्। एसपी दिलिप बस्नेतको गाडीले ललितपुरमा स्कुटरलाई ठक्कर दिँदा बिन्दु सिंह घाइते भएकी हुन्।
शुक्रबार साँझ करिब ६ बजेको समयमा बा१च ८०२५ नम्बरको प्रहरीको गाडीले ग्वार्काे चोकमा बा७७प ३२७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। स्कुटरको पछाडि बसेकी सिंह सामान्य घाइते भएकी छिन्।
स्थानीयले एसपी बस्नेतले नै मदिरा पिएर गाडी चलाएको दाबी गरेका छन्। गाडीमा उनका चालक पनि सँगै थिए। एसपी बस्नेतले भने चालकले गाडी चलाएको बताएका छन्। उनी महानगरीय प्रहरी कार्यालयमा कार्यरत छन्। बस्नेत शारिरीक रुपमा अशक्त व्यक्ति हुन्। प्रहरी निरीक्षक हुँदै गम्भीर दुर्घटनामा परी घाइते भएका उनी एक महिना कोमामा थिए।
ठक्करपछि स्थानीयले गाडी घेरेका थिए। त्यसपछि एसपी बस्नेतले आफू अशक्त भएको भन्दै आफूमाथि मापसे चेक गर्न समेत आग्रह गरेर गाडीमै बसेका थिए। पछि दुईपक्षबीच सहमति भएको छ। सहमतिपछि शनिबार ट्राफिक कार्यालय उपस्थित हुने सर्तमा ट्राफिक प्रहरीले एसपीको गाडी छाडिदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।