काठमाडौं- गुठी विधेयकको विरोधमा गुठी सम्बद्ध संस्थाहरुले असार ४ गते माइतीघर मण्डलामा बृहत् विरोध प्रर्दशन गर्ने भएका छन्।
सरकारले संसदमा दर्ता गरेको ‘गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५’ ले धार्मिक परम्परा, संस्कृतिमाथि प्रहार गरेको ठहर गरेका गुठीयारहरुले संयुक्त रुपमा विरोध प्रर्दशन गर्न लागेका हुन्। उपत्यकाका तीन जिल्लाका गुठीयारहरुले माइतीघरमा विरोध प्रदर्शन गर्न लागेको नेवा देय् दबुका अध्यक्ष नरेश ताम्राकारले जानकारी गराए।
प्रस्तावित विधेयकले जग्गालाई मात्रै प्राथमिकतामा राखेको सरोकारवालाको निचोड छ। धर्म, संस्कृति मास्ने गरी ल्याइएको विधेयकको खारेज हुनुपर्ने ताम्राकारले बताए।
गत आइतबार माइतीघरमा गरिएको विरोध प्रर्दशनमा प्रहरीले गरेको दमनबाट आक्रोशित गुठीयारले आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेका थिए। त्यसयता दिनहुँ प्रदर्शन गर्दै आएका आन्दोलनकारीले बृहत् प्रदर्शन तथा राँके जुलुस प्रदर्शन गर्दै आएका छन्। काठमाडौंको इन्द्रचोक र ललितपुरको मंगलबजार केन्द्रित भएर गुठीयारले प्रदर्शन गरिसकेका छन्।
गुठीयारहरुले प्रस्तावित विधेयकको दफा २३, २४, २५ र ५४ मा रहेको व्यवस्थाले प्राचीनकालदेखि चलिआएका संस्कृति तथा जात्रा पर्व सञ्चालनमा आघात पुर्याउने ठहर गरेका छन्। विधेयक पारित भएमा गुठीको जग्गा, परम्परागत त्वाः, गुथि, चपाः, मठमन्दिर बहिवहाः, विहार आदिको जग्गा रैतानमा परिवर्तन भई व्यक्तिको नाममा पुग्ने कसाः तःधं गुथिले जनाएको छ। ताम्राकारले विधेयक खारेज नभई आन्दोलन नरोकिने बताए। उनले भने, ‘विधेयक संशोधन होइन। खारेज हुनुपर्छ।’
गुठीयारको आन्दोलनमा नेवा मुस्लिम समाजले पनि साथ दिएको छ।
ज्यापु महागुथि नेपाःले शनिबार बिहान बसन्तपुरमा विरोध र्याली निकालेको छ। शनिबार साँझ नै यङ्गाल र बुढानीलकण्ठमा पनि विरोध प्रदर्शन हुने ज्यापु महागुथि नेपाःले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।