काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा विद्युत् उत्पादनको तयारीमा रहेका तीनवटा आयोजना समस्यामा पर्ने भएका छन्।
कूल ५७ मेगावाट क्षमताका तीन आयोजना आगामी चैतसम्म सम्पन्न हुने चरणमा छन्। प्राधिकरणले प्रसारण लाइन निर्माणको काममा चासो नदेखाएको र निर्माण व्यवसायीलाई प्रभावकारीरुपमा काम लगाउन नसक्दा विद्युत् खेर जाने अवस्था आएको भन्दै उद्यमीले गुनासो गरेका छन्।
झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म ९० किमी लामो उक्त प्रसारण लाइन तीन खण्डमा बाँडेर निर्माण सुरु भएको हो। पहिलो खण्ड गोदक–दमक सञ्चालनमा छ भने दुई वटा खण्ड हाल निर्माणाधीन छ।
आर्थिक वर्ष २०६२/६३ देखि सुरु भएको सो प्रसारण लाइन सम्पन्न हुन सकेको छैन। जग्गाको मुआब्जा वितरण, वनको स्वीकृति लगायत समस्याले प्रसारण लाइनको निर्माण अवरुद्ध छ। सो करिडोरमा हाल २५ मेगावाट क्षमताको काबेली ‘बी’ एक, माउण्टेन हाइड्रोले प्रवद्र्धन गरेको २२ मेगावाटको तल्लो हेवाखोला र रैराङ हाइड्रोपावरले निर्माण गरेको १० मेगावाटको इवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको छ। ती आयोजनाबाट कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ।
काबेली ‘बी’ एकको लगानी रु चार अर्ब ३० करोड, तल्लो हेवाको लगानी रु चार अर्ब तथा इवा खोलाको लगानी रु एक अर्ब ६० करोड रहेको छ। काबेली ‘बी’ एकको करिब ९८ प्रतिशत काम सम्पन्न भएको छ। सो आयोजनाका प्रमुख रमेशप्रसाद पोखरेलले आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगे पनि प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने स्थिति निम्तिएको गुनासो गरे।
प्राधिकरणले १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइन निर्माण गर्न नसक्दा समस्या भएको उहाँको भनाइ छ। तर काबेली करिडोर निर्माणको जिम्मा लिएको भारतको एस्टर एण्ड ज्यागुरले निर्माण कार्यलाई प्राथमिकतामा नराखेको निजी ऊर्जा उद्यमीले गुनासो गरेका छन्। उनीहरुले प्राधिकरणले ठेकेदारलाई प्रभावकारीरुपमा काममा लगाउन नसकेकामा आपत्ति जनाएका छन्।
काबेली ‘बी’ एक आयोजना अरुण काबेली जलविद्युत् आयोजनाले निर्माण गरेको आयोजना हो। सो आयोजनाका प्रमुख पोखरेलले प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा समस्या परेको बताउनुभयो। पेनस्टक पाइप र मेशिन जडानको काम भइरहेको छ भने आयोजना निर्माण सम्पन्न हुन लागे पनि प्रसारण लाइनको अभावमा समस्या भएको छ।
कूल २२ मेगावाट क्षमताको तल्लो हेवा खोला निर्माण सम्पन्न हुने चरणमा छ। सो आयोजना आगामी चैतको अन्तिमसम्म निर्माण सम्पन्न हुने आयोजना प्रमुख गणेश सुब्बाले जानकारी दिए।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागार्इंले प्राधिकरणले ध्यान नदिँदा निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजना समस्यामा परेको बताए। निर्माण व्यवसायीलाई काम गराउन नसक्नुको कारण खोजी गर्न र निजी ऊर्जा उद्यमीले पनि थप सहजीकरण गरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने अध्यक्ष गुरागाईको भनाइ छ।
निजी उद्यमीले पटक पटक प्राधिकरणलाई छिटो प्रसारण लाइन बनाइदिन आग्रह गरेको भए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। तर प्राधिकरणले भने प्रसारण लाइन निर्माणको काम भइरहेको जनाएको छ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले समस्या सहजीकरण गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले आवश्यक निर्देशन दिइसकेको जानकारी दिए।
प्रसारण लाइनको ‘राइट अफ बे’मा पर्ने जग्गाको मुआब्जा वितरणमा स्थानीयवासीले चित्त बुझाएका छैनन्। जसका कारण २२ वटा टावर निर्माणमा समस्या पैदा भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।