सुर्खेत- भेरी नदीको पानी लिफ्टमार्फत सुर्खेत उपत्यकामा ल्याउने प्रक्रिया अघि बढाइएको छ। यसका लागि प्रारम्भिक अध्ययन सुरु गरिएको छ।
खानेपानी विभागले चालू आर्थिक वर्षभित्रै विस्तृत अध्ययन पूरा गर्ने लक्ष्यसहित प्रारम्भिक अध्ययन थालेको हो। यसका लागि सिएमएस जेभी कन्सल्टेन्सीले सर्वे गरिरहेको छ।
प्रारम्भिक अध्ययनपछि आयोजनाको डिजाइन र लागत अनुमानसहितको विस्तृत प्रतिवेदन तयार हुनेछ। क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर गोपालप्रसाद उपाध्याय, झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका इन्जिनियर बालाराम तिवारी, कन्सलटेन्सीको तर्फबाट खानेपानी विभागका पूर्व महानिर्देशक हरेराम कोइरालासहितको टोली अहिले आयोजनास्थलमा अध्ययनमा व्यस्त छ।
सुर्खेत उपत्यकाको खानेपानी अभावको समस्या समाधान गर्न भेरी नदीको पानी ल्याउन लागिएको हो। बहुवर्षीय आयोजनाको रुपमा निर्माण गरी उपत्यकाको खानेपानी समस्यालाई दीर्घकालीन रुपमा समाधान गरिने झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताए। उपत्यकामा खानेपानी वितरण गर्दै आएको झुप्रा बृहतकै पहलमा भेरी नदीको पानी लिफ्ट गर्ने योजना अघि बढको हो।
उपत्यकामा बर्सेनि खानेपानीको अभाव हुने गरेको छ। बढ्दो जनसंख्या र प्रदेशको सम्भावित राजधानी पनि भएकाले जतिसक्दो छिटो खानेपानी अभाव पूर्ति गर्नुपर्ने अध्यक्ष देवकोटाको भनाइ छ। अन्य स्रोतहरु नभएकाले भेरीको पानी लिफ्टमार्फत ल्याउनु नै दीर्घकालिन उपाय भएको उनले जनाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।