फाइल तस्बिर।
काठमाडौं– इटाली लैजाने सपना देखाएर १५ नेपालीलाई लिबिया पुर्याएर बन्धक बनाउने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
खोटाङको चिसापानीका ३६ वर्षीय राहुल गहतराज र तिर्थराज विश्वकर्मा भनिने राहुल थापा र संखुवासभाका ४४ वर्षीय कमल भनिने लोकमान राई पक्राउ परेका हुन्। उनीहरुले १५ नेपालीलाई लिबियाको त्रिपोली र मिश्रातामा र इटालीमा रोजगारी दिलाइदिने भन्दै ठगी गरेका थिए।
यसरी इटालीमा राम्रो काम हुने भन्दै ५ लाख देखि ८ लाख रुपैयाँ लिँदै नेपालका विभिन्न स्थानबाट व्यक्ति काठमाडौं झिकाइएको थियो।
काठमाडौंबाट भारतको नयाँ दिल्लीमा पुर्याएपछि पाकिस्तानी र लिवियाली नागरिकहरु समेत भई दुबई पुर्याइएको थियो। दुबईबाट ट्युनिसिया हुँदै लिवियाको त्रिपोली र मिश्राता समेतका स्थानहरुमा पीडितहरुलाई पुर्याइएको थियो।
त्यहाँ पुर्याइएपछि पिडितहरुको पासपोर्ट, नगद तथा भिसा समेतका कागजातहरु खोसी बन्धक बनाई पाकिस्तानी, बंगलादेशी र लिवियाली नागरिकले तयार गरेको सेल्टरमा उनीहरुलाई राखिएको थियो। सेल्टरमा पर्याप्त खानासमेत खान नदिई अमानवीय व्यवहार गरेको पीडितहरुले गुनासो गरेका छन्।
सेल्टरबाटै विभिन्न कम्पनीहरुममा काम गर्न बाध्य पारिएको र सोवापतको पारिश्रमिक समेत नदिइएको पीडितहरुको भनाइ छ।
उक्त विषयको बारे जानकारीपश्चात् मानब बेचबिखन ब्युरो, संयुक्त राष्ट्र संघअन्तर्गत लिबियामा शान्ति स्थापनार्थ रहेको नेपाली सेना, अन्तर्राष्ट्रिय आप्रवासी संगठनको संयुक्त पहलमा उनीहरुको उद्दार गरिएको ब्युरोले जनाएको छ।
उद्दार भई नेपाल आएका पीडितहरुले रोजगारीको नाममा मानब बेचबिखन गरेको भन्दै पीडितहरुले मानव बेचबिखन ब्युरोमा उजुरी दिएका थिए। सोही उजुरीकै आधारमा खोजतलास गर्दा ब्युरोले बिहीबार दुई अझियुक्तलाई काठमाडौंबाट पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका मध्ये राई भने यसअघि पनि मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ। यसअघि उनले टर्की लैजाने भन्दै मान बेचबिखन गरेका थिए। सो मुद्दामा २०७४ पुस २४ गते पक्राउ परेका राई २०७४ माघ ८ गते पुर्पक्षका लागि थुनामा गएका थिए। पछि १० लाख धरौटीमा उनी रिहा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।