काठमाडौं– हिउँद लागेसँगै खोला तथा नदीमा पानीको बहाव घट्दा विद्युत उत्पादनमा कमी आएको छ। पछिल्लो समयमा करिब तीन सय मेगावाट विद्युत् अपुग रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
मागअनुसार विद्युत् अपुग भए पनि सर्वसाधारणको हकमा भने लोडसेडिङ नहुने भएको छ। उद्योगहरुको हकमा भने उच्चतम विद्युत माग हुने समयमा तीन घन्टा विद्युत् कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ।
लोडसेडिङ सुरु भएको हल्लाको खण्डन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार विज्ञप्ति जारी अपुग विद्युत् भारतबाट आपूर्तिको प्रयास भइरहेको र उद्योगमा मात्र तीन घन्टा विद्युत् कटौती गर्नुपरेको उल्लेख गरेका छन्।
विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३ सय ७२, निजी क्षेत्रबाट २ सय २० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कुल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको र ३ सय मेगावाट अपुग रहेको प्राधिकरणले जनाएको छ।
‘प्राविधिक समस्याका कारण कहीँ कतै केहीबेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको छ,’ घिमिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यसका साथै आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकहरुको मागलाई समेत मध्यनजर गरी फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाई समग्र विद्युत वितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार देशैभरि काम भइरहेको छ।’
साथै प्राधिकरणले विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्प लगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर ‘उज्यालो नेपाल’ बनाउन सहयोग गर्न समेत अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।