काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठी पनि ‘सामान्तवाद’को एउटा स्वरुप भएको बताएका छन्। उनले गुठी प्रथालाई बेखारी, हलिया, कमलरी जस्तै रहेको बताउँदै सरकारले यसलाई व्यवस्थित गर्नुपर्ने महसुस गरेको उनको दाबी छ।
‘सामान्तवादलाई हामीले भत्काइरहेका छौं। हामीले सामन्तवादको अन्त्य गर्ने कि नगर्ने? म दोहोर्याएर भन्छु– केही कुरा सांस्कृतिक चिजसँग जोडिएका छन् तर गुठी सामन्ती उत्पादनसँग पनि जोडिएको छ,’ उनले प्रश्न गरे, ‘किसानका भूमिसँग सम्बन्धित समस्या समाधान गर्ने कि नगर्ने?’
गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ मा उत्पन्न विवादबारे पत्रकारले राखेको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन्। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गुठी विधेयकका सम्बन्धमा छलफलवालासँग कुरा भयो कि भएन भन्ने कुरा हो। तर, हामीले एउटा कुरा मान्नुपर्छ गुठी बेखारी, हलिया, कमलरी सामान्तवादका स्वरुपहरु हुन्। जसले सामन्तवादको आर्थिक, सामाजिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गर्छन्।’
उनले गुठीका सम्बन्धमा उपत्यका र बाहिरलाई फरक दृष्टिले हेर्नुपर्ने पनि बताए। 'उपत्यकाभित्र सांस्कृतिक कुरा पनि छ तर बाहिर अर्कैै छ। त्यसैले सांस्कृतिक मूल्य मर्न नदिनेगरी परिवर्तन जरुरी छ,' सरकारका प्रवक्तासमेत रहेका उनले भने।
उनले कतिपय त निजी गुठीसमेत रहेको उल्लेख गरे। आफ्नै जिल्ला (काभ्रे) को पलाञ्चोक भवगती मन्दिर गुठीको उदाहरण दिँदै उनले केही परिवर्तन जरुरी रहेको प्रस्ट गरे। 'पलाञ्चोक भगवती प्रसिद्ध मन्दिर हो,' उनले भने, ‘त्यहाँका २७ सय परिवारले त्यो गुठीको जमिन प्रयोग गरेका छन्। जग्गा व्यक्तिकै नाममा छ तर गुठीमा जनााइएको छ। बच्चा कहीँ पढाउँछु भनेर ऋण झिक्न पनि गाह्रो छ।’
देशभरि सरोकारवाला छरिएको भन्दै उनले कहीँ न कहीँ सरकारसँग संवाद भइरहेको तर कसैकसैले भड्काइदिएको आरोप लगाए।
उनले आमूल परिवर्तन भएन भन्ने तर परिवर्तन गर्न नदिने गरेको समेत उल्लेख गरे। गुठीका सम्बन्धमा उनले सांस्कृतिक पक्षमा कुनै हस्तक्षेप नगरी सुधार गर्न सरकार अघि बढेको भनाइ राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।