लोक सेवाको बिज्ञापन तत्काल रद्द गर्न कांग्रेसको माग

नेपाल लाइभ | २०७६ जेठ ३० बिहीबार | Thursday, June 13, 2019 १६:३०:०० मा प्रकाशित

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने जनाएको छ। 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरित खुलाइएको सो विज्ञापन तत्काल रद्द गर्नुपर्ने पार्टीको अडान रहेको प्रष्टयाएका हुन्। बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको पनि स्पष्ट पारे।

प्रवक्ता शर्माले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको पनि बताए। 

संविधानलाई केन्द्रमा राखेर लोक सेवा आयोगले पुनः सो विज्ञापन खुलाउने र स्थानीय तहमा आवश्यक कर्मचारी नियुक्तिको प्रक्रियालाई अघि बढाउने पक्षमा आफ्नो पार्टी रहेको प्रवक्ता शर्माको भनाई छ।
प्रवक्ता शर्माले सो विज्ञापनमा आवेदन दिएकाहरुको भावनाको सम्मान गर्न पनि लोक सेवा आयोगले सो विज्ञापन पुन खुलाउन ढिलाई गर्न नहुने पनि बताए।