काठमाडौ- खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ।
महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा उत्खनन गर्न व्यक्ति तथा कम्पनीलाई अनुमति प्रदान गरेको हो।
खनिजका लागि महाशाखाले ३६४ स्थानमा अध्ययन गरे पनि जम्मा १२९ स्थानमा मात्र उत्खननका लागि अनुमति दिएको महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले बताए। सबै खोजतलास गरेका ठाउँमा खनिज नहुन सक्ने भएकाले पत्ता लागेको ठाउँमा मात्र उत्खनन गर्ने उनको भनाइ छ।
नेपालमा उत्खनन गर्न लागेका खनिजमध्ये अधिकांश स्वदेशी लगानीमै उत्खनन भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ४ खनिजको उत्खनन भारतीय र ३ खनिजको उत्खनन चिनियाँ कम्पनीले गर्न लागेका छन्।
नेपालमा उत्खनन गरिएका खनिजलाई अति महत्वपूर्ण, महत्वपूर्ण र साधारण गरी तीन भागमा छुट्टाइएको छ। तीमध्ये अति महत्वपूर्णमा सुन, चाँदी, हीरा लगायतका बहुमूल्य धातु पर्छन्। महत्वपूर्णमा चुनढुंगा, काइनाइट, फलाम र साधारणमा रातोमाटो, गिट्टी, बालुवा लगायत पर्दछन्।
मुलुकमा उत्पादित काइनाइट, टुर्मालिन र क्वार्जजस्ता खनिज पदार्थलाई मूल्य अभिवृद्धि र प्रविधिको अभावका कारणले दुई वर्षदेखि विदेशमा निकासी गर्न नसकिएको महाशाखा प्रमुख घिमिरेले जानकारी दिए।
अनुमति पाएका खानी
चुनढुंगा ५२
कोइला १४
टुर्मालिन १२
टल्क १२
कायनाइट ९
स्ल्याब ८
रातोमाटो ५
क्वार्ज ४
फलाम ३
सिसा ३
मार्बल ३
म्याग्नेसाइट १
जिङ्क १
डोलोमाइट १
क्याल्साइट १
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।