काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार बनाउन कुनै संवैधानिक जटिलता नरहेको भन्दै केही दिनभित्रै अर्को सरकार बन्ने दाबी गरेका छन्।
राजधानीको राष्ट्रियसभा गृहमा भएको वाम गठबन्धनको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दैै ओलीले नयाँ सरकार निर्माणका लागि संवैधानिक जटिलता नभई वर्तमान सरकारको सत्ता लिप्सा मात्र बाधक रहेको आरोप लगाए।
ओलीले वर्तमान सरकारले असंवैधानिक काम गर्न राष्ट्रपतिलाई दबाब दिएर अनावश्यक विवादमा तान्न खोजेको भन्दै नैतिक सीमाभित्र बस्न सरकारलाई चेतावनी समेत दिए।
राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेशको प्रसंगमा ओलीले भने, ‘कुनै दल विशेषको स्वार्थका लागि ल्याइएको अध्यादेश असंवैधानिक छ। त्यो कदापि मान्य हुँदैन।’
संविधानका धाराहरुमा प्रष्ट रुपमा बहुमतप्राप्त दलले सरकार बनाउन सक्ने उल्लेख गरेको विषयमा सरकारले अनावश्यक विवाद झिकेको ओलीले आरोप लगाए।
उनले कुनै एक आयुक्तको ट्विटको पछाडि कुद्न जरुरी नहुने टिप्पणी गरे।
आयुक्त इला शर्माले केही दिनहघि ट्विट गर्दै समानुपातिकतर्फ नाम तोक्न संविधानको व्यवस्था बाधक रहेको उल्लेख गरेकी थिइन्। उनीप्रति लक्षित गर्दै ओलीले संविधानमा नभएको बाधा खडा गर्दै सरकार गठनमा अवरोध गर्ने कार्यमा आयुक्त समेत लागेको आरोप लगाए।
‘जनताले मत दिएर पहिलो शक्तिको रुपमा वाम गठवन्धन आएको छ, उसको सरकार गठनमा कुनै संवैधानिक जटिलता छैन’, ओलीले भने।
ओलीले अब केन्द्रीय सरकारसँगै प्रदेश सरकार पनि वामहरुले बनाउने र देश विकासको गतिमा अगाडि बढ्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।