काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध कारोबारी र गुण्डागर्दीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न पोखरामा गोली चलाएको छ।
पोखराको उत्तमचोकमा लागुऔषध कारोबारी जोन र बिगी भनेर चिनिने गोविन्द थापालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो। उनी सन् २०१४ देखि २०१८ सम्म कतारमा लागुऔषध मुद्दामा जेल बसेर छुटेका व्यक्ति भएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
कतारबाट जेलमुक्त भएपछि नेपाल आएका उनले पोखरा आसपासमा गुण्डागर्दी गर्दै आएका थिए। एक वर्षअघि उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको एसपी कार्कीले बताए।
लागुऔषधको अखडा थाहा पाएपछि छापा मार्न गएको प्रहरीमाथि नै आक्रमण भएपछि गोली चलाएको प्रहरीले जनाएको छ।
गोली प्रहारबाट घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको दायाँ घुँडामा गोली लागेको छ। उनको साथबाट डाइजोपाम, नुर्फिन र फेनार्गन गरी १५ सय एम्पुल लागुऔषध बरामद भएको छ। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।