काठमाडौं– कैलाली क्षेत्र नम्बर –२ बाट निर्वाचित सांसद झपट रावलले सभामुखसँग बोल्न समय मागेर रोष्ट्रममा पुगे। तर, बोलेनन्। उनी मौन बसेको देखेर सभामुखले बोल्न आग्रह गरिन्, ‘माननीयले समय लिनुहोस् । म आग्रह गर्छु।’
उनले भने, ‘सभामुख महोदय भए पो बोल्नु?’ उनले दुई मिनेट यसरी मौनता साँधे।
मौनता साँध्नुको कारण थियो, सहरी विकास मन्त्रालयले उक्त क्षेत्रका पुनर्स्थापित बादी, कमैया र हलियाका बारेमा कुनै बजेट नछुट्याउनु। त्यसैगरी सुदूरपश्चिममा हालै हावाहुरीले क्षति पुर्याउँदा सरकार मौन बसिरहेको प्रति उनले मौन रहेरै विरोध जनाए।
सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विभेद गरेको भन्दै उनले भने, ‘मन्त्रीको योग्यता हेर्दा दया लाग्छ।’
के भने रावलले ?
म खाउँ, मै लाउँ, सुखसयल वा मोज म गरुँ
म बाँचु मै नाँचु अरु सब मरुन् दुर्बलहरू
अर्थात्, म जस्ताहरु सहरी विकास मन्त्रालयका वार्षिक कार्यक्रमका पाना पाना पल्टाएर हेरें। केही देखिएन। मैले बजेट निर्माणअघि यो मन्त्रालयको ढोका पटक–पटक ढोका ढकढकाएँ।
मेरो निर्वाचन क्षेत्र त्यस्तो क्षेत्र पर्छ, जसको विकास यो सहरी विकास मन्त्रालयको उद्देश्य र कार्याविधिमा छ। देशकै पुनर्स्थापित बादी समुदाय त्यो क्षेत्रमा हुनुहुन्छ। उहाँहरू रुखको सिरक र धर्तीको डस्ना बनाएर बसिरहनुभएको छ। मुक्त कमैया पुर्नस्थापनाको शिविर कहीँ छ भने त्यहीँ छ।
अहिले उहाँहरु हावाहुरीले घरबार बिहीन हुनुहुन्छ। जुन ठाउँमा लक्षित समुदाय छ। त्यो समुदायमा सरकारको आँखा पुग्दैन।
अहिले मन्त्री केन्द्रित र नेता केन्द्रित बजेट आएको छ। यो विभेदकारी छ।
राहतको सन्दर्भमा पनि त्यस्तै विभेद छ। जहाँका नागरिकमाथि समस्या पर्दा पनि राज्य उपस्थित हुनुपर्छ। त्यहाँका जनता आक्रान्त छन्। घाइतेहरू भारत र नेपालगञ्जमा गएर उपचार गराइरहेका छन्। सरकार कानमा तेल हालेर सुतिरहेको छ।
सहरी विकास मन्त्रालयले अघि सारेको बजेट छ। यो घोर विभेदकारी छ। मन्त्रीलाई प्रश्न गर्न चाहन्छु, तपाईंको बाँकेको एउटा क्षेत्र मात्रै कार्यान्वयन गरेर सहरको विकास हुने हो? तपाईंकै निर्वाचन क्षेत्र रहेको बाँकेका छेउछाउका ठाउँमा पनि कुनै योजना छैन। मलाई तपाईंको योग्यता तपाईंहरूको योग्यता हेर्दा दया लागेर आएको छ।
हेर्नुहोस् भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।