काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले माइतीघर मण्डलामा जेठ २६ गते भएको प्रहरी हस्तक्षेपबारे प्रतिनिधिसभाको बैठकमा जानकारी गराउँदै आफ्नो धारणा राखेका छन्। राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको भन्दै उनले माइतीघर मण्डलामा केही संस्था, समिति, सम्पदा बचाउ अभियान लगायतको प्रदर्शनका क्रममा प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको जिकिर गरे।
गुठी विधेयकका प्रावधानमा असहमति राख्दै जेठ २६ गते माइतीघरमा प्रदर्शन भएको थियो। प्रहरीले सार्वजनिक सवारीसाधन आवागमनमा अवरोध नगर्न गरेको आग्रह अस्वीकार गरी प्रर्दशनकारीले यातायात अवरोध गर्ने काम जारी राखेकाले पानीको फोहराको अतिरिक्त प्रहरीले सामान्य बल प्रयोग गरेको मन्त्री थापाको दाबी छ। प्रर्दशनकारीको तर्फबाट पनि बल प्रयोग भएको र प्रहरीलाई ढुंगा प्रहार गर्ने काम गरेपछि त्यसलाई नियन्त्रण गर्ने काम भएको उनले स्पष्ट पारे।
'शान्तिपूर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा, इँटा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौ,' उनले भने।
उक्त घटनाको सरकारले नैतिक जिम्मेवारी लिने र घटनाबारे छानबिन गर्ने पनि उनले प्रतिबद्धता जनाए।
मण्डलामा भएको प्रहरी दमनको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग गर्दे सोमबारको संसद बैठक अवरुद्ध गरेको थियो। त्यसपछि मंगलबारको बैठकमा गृहमन्त्री थापाले त्यसबार सदनलाई स्पष्ट पारेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।