काठमाडौं– प्रेमिकाकै सहयोगमा एक युवकले राजधानीमा बालिकामाथि ३ महिनादेखि यौनशोषण गर्दै आएको खुलेको छ। ओमबहाल बस्ने भारतीय नागरिक ३२ वर्षीय उमेश सोनीले प्युठान घर भएकी प्रेमिका जानुका गिरीको सहयोगमा बालिकामाथि यौनशोषण गर्दै आएका हुन्। सोनी र गिरी दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
ओमबहालमा डेरा गरी बस्ने गिरीका श्रीमान् वैदेशिक रोजगारका क्रममा विदेशमा छन्। उनी प्रेमी सोनीसँग ६ महिनादेखि बस्दै आएकी थिइन्। कमजोर आर्थिक अवस्था भएकी बालिकालाई पढाइदिने भन्दै उनले गाउँबाट काठमाडौं ल्याएकी थिइन्। डेरामा लागेर उनले बालिकालाई यौनशोषण गराउँदै आएको प्रहरीले जनाएको छ।
आत्महत्या प्रयासपछि खुल्यो रहस्य
पीडित बालिका गत साता ओमबहालको एक पसलमा विषादि किन्न गएकी थिइन्। पसलेले बालिकासँग सोधपुछ गर्दा उनले आत्महत्या गर्न लागेको खुल्यो। ती पसलेकै सूचनाका आधारमा आफूहरुले अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी मोहन थापाले बताए। ‘जानुकाकै सहयोग र सहमतिमा यौनशोषण हुँदै आएको अनुसन्धानमा खुलेको छ,’ डिएसपी थापाले भने, ‘भारतीय नागरिकले बिहे गरेर राजस्थापन लैजान्छु भनेर प्रलोभनमा पारेर समेत यौनशोषण गरेको पीडित बालिकाले बताएकी थिइन्।’
प्रहरीले भारतीय नागरिक सोनी र जानुका दुवैलाई गत आइतबार पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा कारबाही अघि बढाएको छ। मुख्य अभियुक्त सोनी पेशाले इलेक्ट्रिसियन हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।