लन्डन- प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताएका छन्।
अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गरेका जानकारी दिए।
प्रधानमन्त्री ओली जेनेभाबाट लन्डन पुगे लगत्तै हेलिकोप्टरमार्फत अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए। विश्वविख्यात अक्सफोर्ड विश्वविद्यालयअन्तर्गत अक्सफोर्ड युनियनमा विश्वका नेता, प्राज्ञ तथा विचारकले मन्तव्य व्यक्त गर्दै आएका छन्।
यसअघि सोमबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी सम्मेलनका क्रममा जेनेभामा प्रधानमन्त्री केपी शर्मा ओली र नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबीच भेटवार्ता भएको छ। दुई प्रधानमन्त्रीबीच नेपाल र नर्वेबीच आपसी मित्रता र सम्बन्ध अझै बढाउने विषयमा सहमति भएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।