फाइल तस्बिर।
लन्डन- प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्य (बेलायत)का प्रधानमन्त्री थेरेसा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्यको औपचारिक भ्रमणका क्रममा राजधानी लन्डन आइपुगेका छन्।
स्विट्जरल्यान्डको जेनेभाबाट सोमबार राति लन्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गरे। प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरु उपस्थित थिए।
प्रधानमन्त्री ओलीले आज आफ्ना बेलायती समकक्षी थेरेसा मेसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। बेलायती संसद्मा नेपाल मामिला हेर्ने संसदीय समूहले प्रधानमन्त्रीको सम्मानमा कार्यक्रम आयोजना गर्ने जनाइएको छ। बेलायती राजपरिवारका सदस्यसँग पनि प्रधानमन्त्रीको भेटको कार्यक्रम छ।
प्रधानमन्त्रीसँग आज नेपाली दूतावासमा गैरआवासीय नेपाली सङ्गठन संयुक्त अधिराज्यका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीले भेट्नेछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।