काठमाडौं- धितोपत्र बजारमा नेप्से मंगलबार दोहोरो अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार बजार १४.४९ बिन्दुले ओरालो लागेर एक हजार ४ सय ९३ अंकमा पुगेको छ।
यस्तै, ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.०५ बिन्दुले ओरालो लागेको छ। मंगलबार कुल १६६ कम्पनीको १४ लाख पाँच हजार ९७१ कित्ता सेयर रु ५९ करोड ९३ लाख ७६ हजार ३२२ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ।
यस्तै, बैंकिङ ७.३६, व्यापार ०.९३, होटल ३२.९, विकास बैंक ७.२७, जलविद्युत् १४.४६, फाइनान्स ४.०७, बिमा ५९.६७, उत्पादन १७.१९, अन्य समूह ३६.४४ र माइक्रोफाइनान्स समूह २०.२३ बिन्दुले आरालो लागेको छ।
सेयर बजारका विश्लेषक निरव पुडासैनीले राजनीतिक अन्योल कायम रहेकाले बजार प्रभावित भएको बताए। वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि बजारमा अनावश्यक हल्ला चलाइएको र उक्त हल्लाको सम्बोधन गर्ने प्रयास नभएकाले पनि बजार प्रभावित भएको उनको भनाइ छ।
नयाँ सरकार गठन लगत्तै बजार सङ्लिएर सहज अवस्थामा पुग्ने तथा अनेकन हल्ला र आशंकाको समेत समाधान हुने पुडासैनीले विश्वास व्यक्त गरे।
सेयर दलालले भने नेपाल धितोपत्र बोर्डले बजारको उतारचढावका बारेमा नबोल्न कडा निर्देशन जारी गरेका कारण प्रतिक्रिया दिन चाहेनन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।