राजविराज- सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं १ का वमभोली चौधरीको घरमा शौचालय छ। तर प्रयोगमा छैन।
गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने भन्दै आएका गैरसरकारी संस्था र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका कर्मचारीले र्याखर्याख्ती पारेपछि उनले शौचालय त बनाए तर दिसापिसाबका लागि भने खुला ठाउँमै पुग्छन्।
‘चर्पी नबनाए थुन्छौं भन्दै बिहान–बेलुकै प्रहरी घरमा आउन थालेपछि ऋणपान गरेरै बनाएँ,’ चौधरीले भने, ‘बालबच्चाको खोप र वृद्धभत्ता समेत रोकिदिने धम्की दिन थालेपछि नबनाएर सुखै पाइन।’
विभिन्न प्रकारका सिफारिस र सरकारी सुविधा पनि नपाइने भएपछि बाध्यताले शौचालय बनाउनुपरेको उनले प्रस्ट्याए। शौचालयमा दिसापिसाब गरेर दुर्गन्ध फैलाउनुभन्दा अलि टाढा गए फोहोर र दुर्गन्ध पनि टाढै हुने उनको मान्यता छ। खुला स्थानमा शौच गर्ने बानी भएकाले शौचालय पस्दा गन्हाउने गरेको उनले बताए।

चौधरी प्रतिनिधि पात्र मात्रै हुन्। यस गाउँपालिकाका करिब ४० प्रतिशत घरका शौचालय प्रयोगमा छैनन्। गत मंसिर ३ गते नै खुला दिसामुक्त घोषणा भएको उक्त गाउँपालिकाका १० प्रतिशत घरमा त अहिलेसम्म शौचालय बनेकै छैनन्। आर्थिक अवस्थाले नभ्याएपछि आफूले शौचालय बनाउन नसकेको वडा नम्बर २ का गुप्ता सदाले बताए। २ नं वडामा गुप्ता जस्ता एक दर्जनभन्दा बढी घरमा शौचालय छैन। शौचालय नबनाएकाहरुले गाउँ नजिकै रहेका बाँसघारी, पोखरीका डिल, खुला चौर, आँप बगैंचा र सार्वजनिक/ऐलानी/पर्ती जग्गालाई दिसापिसाबको थलो बनाउँदै आएका छन्।

शौचालय प्रयोगको फाइदा र बेफाइदासहित स्पष्ट जानकारी सर्वसाधारणलाई दिन नसक्दा बनेका शौचालय पनि प्रयोगमा आउन नसकेको स्थानीयवासीको भनाइ छ। ‘शौचालय ठड्याएपछि प्रक्रिया या त पूरा भयो तर उद्देश्य चाहिँ अधुरै छ,’ सञ्चारकर्मीसमेत रहेका स्थानीय वृजमान तामाङले भने, ‘अभियानलाई खालि संख्यासँग जोडेर हेरिएको छ, यसले सर्वसाधारणलाई आर्थिक भार थप्नेबाहेक अर्को प्रतिफल दिँदैन।’
गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्दा बनाइएका एक दर्जनभन्दा बढी घरका शौचालय अहिले प्रयोग गर्नै नमिल्ने अवस्थामा छन्। घेराबारा नभएका, प्यान नभएका, छाना नभएका अधुरा शौचालय जताततै देख्न पाइन्छ।
हरेक घरमा शौचालय हुनुपर्ने, खुला दिसा देखिन नहुने लगायतका पूर्वाधारबिनै हचुवाका भरमा खुला दिसामुक्त घोषणा गरिएका कारण यस्तो अवस्था आएको स्थानीयहरु नै बताउँछन्।
‘निर्माण सम्पन्न भएका शौचालयलाई पनि कतिपय स्थानमा दाउरा र घाँस राख्न प्रयोग गरिएको छ,’ तामाङ भन्छन्, 'दाउरा घाँस राख्नकै लागि त हजारौं रुपैया खर्च गराएर शौचालय बनाउनु जरुरी नै थिएन।’

गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी पनि चेतना अभावका कारण खुला ठाउँमा दिसा गर्नेको संख्यामा कमी नआएको स्वीकार्छन्। तर, यसको प्रभावकारी नियन्त्रणको उपाय भने उनीसँग पनि छैन।
यति मात्र होइन, सप्तरीलाई सन् २०१७ भित्रै खुला दिसामुक्त घोषणा गर्ने अभियान अन्तर्गत अहिलेसम्म साबिकका ९६ गाविस र ४ नगरपालिकामध्ये ५२ गाविस र १ नगरपालिका खुला दिसामुक्त घोषणा भइसकेका छन्।

जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको रेकर्ड अनुसार जिल्लाका १ लाख १९ हजार ६ सय १८ घर परिवारमध्ये १ लाख ६ हजार ३४६ घरमा शौचालय बनिसकेकोका छन्। तर, शौचालय प्रयोगको अवस्थाका बारेमा भने समितिले ध्यान दिएको छैन। शौचालय प्रयोगको अवस्था हेर्दा अधिकांश गाविसको अवस्था अग्निसाइर कृष्णासवरण गाउँपालिकाको भन्दा भिन्न छैन।
अर्कोतर्फ तोकिएकै मितिमा अभियान पूरा गर्ने भन्दै अहिले पनि गाउँगाउँमा शौचालय बनाउन दौडधुप चलिरहेको छ।
सप्तरी सामुदायिक विकास केन्द्र, जिल्ला समन्वय समिति सप्तरी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, महुली सामुदायिक विकास केन्द्र, सवल नेपाल, वेल, पञ्चावती ग्रामीण विकास केन्द्र, हुकोडेक लगायतका संघसंस्थाका कर्मचारीहरु शौचालय निर्माण गराउन सर्वसाधारणलाई दबाब दिने र प्रभावमा पार्ने काम गरिरहेकै छन्।

डिसेम्बर ३१ (पुष १६) सम्म बाँकी रहेका १३ हजार २७२ घरमा शौचालय निर्माण गर्नैपर्ने लक्ष्य रहेको जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयका कार्यक्रम संयोजक मिथिलेस यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।