काठमाडौं- चालु आर्थिक वर्ष २०७५/७६ सकिन ३५ दिनमात्र बाँकी रहँदा पुँजीगत (विकास) खर्चको ५५ प्रतिशत रकम खर्च गर्न बाँकी रहेको देखिएको छ। चालु आर्थिक वर्षका लागि विकास बजेटका लागि सरकारले ३ खर्ब १३ अर्ब रुपैयाँ विनियोजन गरेकोमा जेठ २५ गतेसम्म १ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले उल्लेख गरेको छ।
उक्त रकम सरकारले लिएको लक्ष्य भन्दा निकै कम हो। करिब सवा ३ खर्ब रुपैयाँ बराबरको विकास बजेट छुट्याइएपनि चालु आर्थिक वर्षको मध्यावघि समीक्षा गर्दै २ खर्ब ६५ अर्ब रुपैयाँ मात्र विकास बजेट खर्च गर्ने संशोधित अनुमान गरेको थियो। तर आर्थिक वर्ष सकिन एक महिना जति मात्रै समय बाँकी रहँदा संशोधित अनुमानको आधा मात्रै पुँजीगत भएको छ।
जेठ २५ गतेसम्मको कुल पुँजीगत खर्च ४६ दशमलव ११ प्रतिशत रहेको छ। जेठ महिनाको बाँकी ५ दिन र असार गरी करिब ३५ दिनमा १ खर्ब ६९ अर्ब २१ करोड २३ लाख रुपैयाँ खर्च गर्न बाँकी रहेको छ। चालु आर्थिक वर्षका लागि कुल विनियोजित बजेट र यस अवधिसम्ममा खर्च हुन बाँकी रकम हेर्दा दैनिक करिब ५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ।
अबका ३५ दिनमा ५५ प्रतिशत विकास खर्च गर्न गाह्रो हुने र भइहाले पनि प्रक्रियामा कमजोरी हुने अनुमान गर्न थालिएको छ।
पुँजीगतमा मात्र नभई अघिल्लो आर्थिक वर्षको तुलनामा चालु खर्च पनि निकै कम मात्र भएको देखिन्छ। यस अवधिसम्ममा चालु खर्च ६९ दशमलव ३८ प्रतिशत भएको छ। ३० प्रतिशतभन्दा बढी रकम खर्च हुन बाँकी छ।
सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ कुल ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ बराबर विनियोजन गरेको थियो। यसमध्ये जेठ २५ गतेसम्ममा ५ खर्ब ८६ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बराबर खर्च भइसकेको छ भने २ खर्ब ५८ अर्ब ८६ करोड ४१ लाख रुपैयाँ बराबर खर्च हुन बाँकी छ।
यसरी हेर्दा चालुतर्फ ३५ दिन अवधिमा सरकारले ७ अर्ब ४० करोड रुपैयाँ बराबर खर्च गर्नुपर्ने देखिन्छ।
अघिल्ला आर्थिक वर्षमा चालु र पुँजीगत खर्चका तुलनामा निकै बढी प्रतिशत खर्च हुने गरेको वित्तीय व्यवस्थापनतर्फ विनियोजित बजेट चालु आर्थिक वर्षमा भने निकै कम मात्र देखिएको छ।
वित्तीय व्यवस्थापनतर्फ हालसम्ममा ३६ दशमलव ५८ प्रतिशत मात्र खर्च भएको देखिन्छ। चालु आर्थिक वर्षका लागि यस शीर्षकमा १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ बराबर विनियोजन भएको थियो। जसमध्ये ५६ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खर्च भएको छ भने ९८ अर्ब ७६ करोड रुपैयाँ बराबर खर्च हुन बाँकी रहेको देखिन्छ। खर्च हुन बाँकी रकम वित्तीय व्यवस्थापन शीर्षकमा छुट्याईएको कुल बजेटको करिब ६४ प्रतिशत बराबर हो।
यसरी समग्रमा हेर्दा चालु आर्थिक वर्षमा पनि बजेट खर्चको अवस्था र प्रवृतिमा यसअघिका आर्थिक वर्षकै निरन्तरता देखिएको छ।
तीनवटै शीर्षकमा गरी कुल १३ अर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा आर्थिक वर्ष सकिन ३५ दिन मात्रै बाँकी रहँदा ७ खर्ब ८८ अर्ब ३४ करोड रुपैयाँ अर्थात कुल विनियोजित बजेटको ५९ दशमलव ९४ प्रतिशत बजेट खर्च भएको छ। बाँकी अवधिमा ४१ दशमलव शून्य ४ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ।
आव सकिन बाँकी अवधिमा सरकारले ५ खर्ब २६ अर्ब ८२ करोड १७ लाख रुपैयाँ बजेट खर्च गर्नुपर्ने छ।
विनियोजित बजेटअनुसार खर्चको लक्ष्य भेटाउन सरकारले दैनिक १५ अर्ब ५ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ। चालु खर्चका तुलनामा पुँजीगत खर्च कम हुने र आर्थिक वर्षको अन्तिममा मात्र विकास खर्च अत्यधिक हुने परम्पराले यसवर्ष पनि निरन्तरता पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।