रसुवा- रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीको उत्तरगयामा पौषे कृष्ण औंसीको अवसरमा पितृ तर्पण गर्नेको भिड लागेको छ। धार्मिक एवं पवित्र त्रिशूली, सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल वेत्रावतीमा औंसीको दिन आज बिहानैदेखि दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै ‘जौ’को पिण्ड दिएर श्राद्ध गर्नेहरुको भिड लागेको हो।
उत्तरगया क्षेत्र विकास समितिका अनुसार पिण्ड तर्पण गर्नका लागि उत्तरगयाधाममा श्राद्ध गर्न हिन्दु र बौद्ध दुवै धर्मालम्वीका श्रद्धालु आउने गरेका छन्।
हिन्दु धर्मालम्वीले वेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्छन् भने बौद्ध धर्मालम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुले मन्त्र पढ्ने र बत्ती बाल्ने गरेका छन्।

उत्तरगयास्थित त्रिवेणीमा पौष कृष्ण आमावस्या तथा गया औँसीको उपलक्ष्यमा पितृको नाममा पिण्डदान गरिनुका साथै हजारौंले स्नान गर्ने गरेको उत्तरगया क्षेत्र विकास समितिले जनाएको छ।
उत्तरगया धाममा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको पण्डित, पुजारी तथा श्रद्धालुहरुले बताएका छन्। हिन्दु धर्मालम्बीको आस्था पुराणअनुसार कालकूट विष पिई त्यसको राप शान्त पार्न भौंतारिएर हिँडेका महादेवले त्रिशूल प्रहार गर्दा उत्पन्न भएको त्रिशूली नदी र महादेवले नै बेतको लौरी खोप्दा उत्पत्ति भएको वेत्रगंगास्थित फलाँखु खोलाको संगमस्थल भएकोले पवित्र भूमिको रूपमा उत्तरगया परिचित रहेको छ।

त्रिशुली, सलाँखु र फलाँखु नदीको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट, र रसुवाको मैलुङसम्म फैलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।