चितवन- राजश्व अनुसन्धान विभागले शनिबार यहाँका व्यवसायीसँग सामान ढुवानी गर्दा प्रयोगमा ल्याउन लागिएको नयाँ प्रविधिका बारेमा छलफल गरेको छ। उद्योग वाणिज्य सङ्घ चितवनले आयोजना गरेको कार्यक्रममा यही साउनबाट अनिवार्यरूपमा लागू गर्न लागिएको वेबमा आधारित 'भेइकल एन्ड कन्जिङ्म्यान्ट ट्र्याकिङ सिस्टम'का सम्बन्धमा छलफल गरिएको हो।
सो अवसरमा दिइएको जानकारीअनुसार यस पद्धति सामान ढुवानी गर्दा प्रयोग गरिनेछ। एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानबाट अर्को स्थानसम्म सामान ढुवानी गर्दा दर्ता गराएर गर्नुपर्ने हुन्छ। यस प्रणालीअन्तर्गत ढुवानी कम्पनी, आयातकर्ता र आफैँ सामान ढुवानी गर्नेहरुले मालसामान ओसारपसार गर्नुपूर्व वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्टि गरेर मात्र ओसारपसार गर्नुपर्ने नयाँ सफ्टवेयर प्रणाली भएको सो अवसरमा जानकारी दिइएको थियो।
कार्यक्रममा राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मीले यस प्रणाली के हो, यसबाट के–के फाइदा हुन्छ, यस प्रणालीको आवश्यकता किन पर्यो, हाल ढुवानीकर्ताले भर्ने गरेको चलान, यस प्रणालीबाट बन्ने चलानलगायतका बारेमा प्रकाश पारेका थिए। विभागका निर्देशक टङ्क पाण्डेका अनुसार यस प्रणालीका बारेमा जेठ महिनाभरिमा देशभरका प्रमुख सहरहरुमा अन्तरक्रिया गरी छलफल गरिनेछ।
असार महिनामा परीक्षणका रुपमा प्रयोग गरेर साउनबाट अनिवार्य रुपमा लागू गरिने पाण्डेले जानकारी दिए। यस प्रणालीअन्तर्गत ढुवानी पूर्व सामानको विवरण केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्र ओसारपसार गर्न सकिने उनले बताए। जसबाट बाटोमा हुने सबै झन्झट हट्ने पाण्डेको भनाइ छ।
सो अवसरमा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजाल, उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, सङ्घका उद्योग प्रवर्द्धन समितिका संयोजक सोमप्रसाद काप्रीलगायतले बोलेका थिए। कार्यक्रममा सहभागीहरुले यस प्रणालीका बारेमा जिज्ञासा राखेका थिए। (समाचार-रासस/तस्बिर-रोहित श्रेष्ठ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।