काठमाडौं- कोरियाली भाषा परीक्षाको पहिलो दिन शनिबार परीक्षामा अमर्यादित काम गर्ने ५५ जना निष्काशित भइ पक्राउ परेका छन्। शनिबार ४६ हजार १ सय ९६ जनाले परीक्षा दिनुपर्ने पालोमा परेका थिए। सो मध्ये ४ हजार ३७ जना अनुपस्थित भएको इपिएस कोरिया शाखाले जानकारी दिएको छ।
कोरियाली भाषा परीक्षा काठमाडौं र पोखराका विभिन्न केन्द्रमा संचालन भइरहेको छ। भाषा परीक्षाका लागि यसपटक ९२ हजार ३ सय ५६ युवाले फर्म भरेकोमा बाँकी परीक्षार्थीको भने परीक्षा कार्यक्रम आइतबारका लागि तोकिएको छ।
यस वर्ष हालसम्मकै बढी परीक्षार्थीले आवेदन दिएका छन्।
गत चैत ८ देखि दश दिनसम्म खुलेको आवदेनमा युवाहरूले अनलाइन प्रणालीबाट फर्म भरेका थिए।
आगामी वर्ष अर्थात् सन् २०२० का लागि सञ्चालन भएको परीक्षाबाट कोरियाले १० हजार ५० युवालाई छनोट गर्नेछ। यस मध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० छानिने छन् भने कृषि क्षेत्रमा ३ हजार युवाको नाम प्रकाशित हुनेछ।
परीक्षार्थीलाई एक घण्टा अभिमुखीकरण तालिम दिने भएकाले इपिएस कार्यालयले निर्धारित समय भन्दा दुई घण्टा अघि नै परीक्षा केन्द्रमा प्रवेश गर्न आह्वान गरेको छ।
परीक्षार्थीका लागि २८ केन्द्र काठमाडौंमा तोकिएको छ भने ४ केन्द्र पोखरा तोकिएको छ।
आर्थिक कमाइको उत्कृष्ट गन्तव्य रहेको कोरियामा ५५ हजार बढी नेपाली युवाहरू रोजगारीमा रहेका छन्।
दुई देशका सरकार बीच सम्झौता भई सरकारी तबरमा २००८ देखि नेपालले दक्षिण कोरियामा कामदार पठाउँदै आएको छ।
परीक्षाको नतिजा असार १३ मा प्रकाशित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।