काठमाडौं– एक्स्काभेटर अपरेटरको काम गर्दै आएका निजगढ बाराका नवराज बजगाई मासिक ६० देखि ७० हजार कमाउँथे। १२ कक्षा सकेर बारामै अपरेटरको काम गरिरहेका २२ वर्षीय बजगाईलाई गाउँका एक दाइले क्यानडाको सपना देखाइदिए।
क्यानडामा मासिक ६ लाख कमाइ हुने सुनेपछि दाइकै सम्पर्कबाट उनले भेटे इलाम घर भएका अरुणकुमार राईलाई। राईले पनि मासिक ४ लाखदेखि ओभरटाइम गर्दा ६ लाखसम्म हुने सुनाए। त्यहाँ होटल, सुपरमार्केट लगायत विभिन्न कम्पनीमा सहजै काम पाइने भन्दै उनले बजगाईलाई सकेसम्म फकाए।
आफ्नो मासिक ७० हजारको हिसाब गर्दा पनि ४ लाख कमाउन ६ महिना कुर्नुपर्थ्यो। क्यानडामा एकै महिनामा ६ लाखसम्म कमाइ हुने भएपछि बजगाई लोभिए। क्यानडा जाने सपना देख्न थाले।
‘आफ्नै चिनेको गाउँको दाइ त्यो पनि नेपाल प्रहरीमा काम गर्ने, उहाँले नै क्यानडा पठाउने व्यक्तिसँग चिजान गराइदिनुभयो, त्यसपछि पनि विश्वास बढ्यो,' बजगाई भन्छन्, 'अनि क्यानडा जान तयार भएँ।’
क्यानडा जानका लागि आवश्यक सबै रकम आफूसँग नभएपछि उनले साहुबाट ऋण काढे।
उनलाई भारतको बाटो हुँदै क्यानडा जानुपर्ने सुनाइयो। यस्तो बाटो जाँदा युवाहरु समस्यामा परेको कुरा उनले थाहा नपाएका होइनन्। तर भारतस्थित नेपाली दूतावासबाट नो अब्जेक्सन लेटर लिएर वैधानिक रुपमा लैजाने भनेर राईले फेरि उनको दिमाग भुटे।
यसरी उनी पूर्णत: क्यानडाका लागि तयार भए। जसका लागि ४५ लाख तिर्नुपर्ने भयो। सुरुमा १५ लाख बुझाए।
बजगाईसँगै २०७४ चैतमा भारत हुँदै अन्य विभिन्न मुलुक लैजान लागिएका अन्य ८ जना युवाहरु थिए।
उनीहरुलाई भारतको नयाँ दिल्ली पुर्याएर केही समय राखियो। नो अब्जेक्सन लेटर ल्याउने भन्ने राईले उनीहरुलाई झुक्याए। त्यहाँ केही नगरी उनीहरु इन्धिरा गान्धी इन्टरनेसल एयरपोर्टबाट सिंगापुर इन्टरनेसनल एयरपोर्ट पुगे। त्यहाँ पुगेलगत्तै उनीहरुलाई राईले इन्डोनेसियाका लागि उडाए।
‘डेढ घन्टाको उडानपछि हामी इन्डानेसिया पो पुग्यौं,’ बजगाई भन्छन्।
इन्डोनेसियाको एउटा होटलमा उनीहरुलाई ४५ दिनसम्म राखियो। त्यहाँ पनि राईले खानबस्न दिएर भोलि नै क्यानडा पठाउँछु भन्दै झुलाइरहेका थिए।
केही समयपछि भने राई नै सम्पर्कविहीन भए।
तब मात्रै आफूहरु फसेको थाहा पाएको बजगाई सुनाउँछन्। सपना चकनाचुर भएपछि आफन्तहरुसँग पैसा मगाएर उनीहरु फेरि सिंगापुर हुँदै नेपाल फर्किए।
नेपाल फर्किएपछि धेरैपटक सम्पर्क राईलाई बजगाईले भेट्टाए। रकम फिर्ता गर्न आग्रह गरेपछि उनले बुझाए बराबरकै रकमको चेक राईले थमाइदिए।
‘एनसिसी बैंकको चेक दिएका थिए, तर चेकमा पैसा थिएन, मैले चेक बाउन्सको उजुरी हालेँ। साथीहरुले वैदेशिक रोजगारीका नाममा ठगीको उजुरी दिए,’ बजगाई भन्छन्।
२० भन्दा बढी युवाबाट करोडौं ठगी
बजगाईसँगै दोलखाका छिरिङ शेर्पा, कार्डोमा शेर्पा, बाग्लुङका रुद्रकुमार पौडेल लगायत ८ जना राईबाट ठगिएका थिए। उनीहरु सबैलाई फरकफरक आकर्षक गन्तव्य मुलुकमा पुर्याइदिने राईले प्रलोभन देखाएका थिए।
बाग्लुङका पौडेललाई पोर्चुगल पठाइदिन्छु भन्दै राईले ७ लाख ठगेका थिए भने शेर्पाद्वयलाई जापान पठाइदिन्छु भन्दै १० लाख जनही असुलेक थिए। अछामका हिमाल उपाध्यायसँग १४ लाख र डिबी राईसँग क्यानडा पठाउने भन्दै १०/१० लाख राईले उठाएका थिए।
राईले यसरी क्यानडा, अमेरिका, जापान, पोर्चुगल लगायत मुलुकमा राम्रो काम र कमाइको प्रलोभन देखाई ठगी गरेका २० जनाभन्दा बढी युवाहरुको उजुरी विभाग तथा प्रहरी परिसर काठमाडौंमा परेको छ।
काठमाडौं प्रहरी परिसरले राईलाई गत बैसाख २१ मा पक्राउ गरेको छ।
वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुकको प्रलोभन देखाएर युवाहरुलाई ठग्ने क्रम बढ्दै गइरहेकाले युवाहरु पनि आफैँ सचेत हुनुपर्ने काठमाडौं प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटी बताउँछन्।
उनी भन्छन्, ‘राम्रो काम र कमाईको प्रलोभन देखाई भारतको बाटो हुँदै लैजाने बहानामा ठगिएका दैनिकजसो १०/११ वटा भन्दा बढी उजुरीहरु आउने गरेका छन्।’
भारतको रुट अवैधानिक भएकाले कसैको प्रलोभनमा परेर सो रुटको प्रयोग नगर्न प्रहरीले युवाहरुलाई अनुरोध समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।