राजविराज– गहुँ छर्ने बेलामा सप्तरीमा रासायनिक मलको अभाव भएपछि सप्तरीमा कालोबजारी अत्यधिक बढेको छ ।
बिउ छर्ने बेलामै डिएपी मलको अभाव भएपछि गाउँ–गाउँबाट सदरमुकाम आएका किसानले रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन्। महदेवा गाउँपालिका–३ वथनाहाबाट डिएपी मल लिन राजविराज आएका किसान रामप्रसाद यादवले तीन दिनदेखि धाउँदा पनि मल नपाएपछि रित्तो हात फर्किनुपरेको गुनासो गरे।
उनले करिब दुइ हजार दुई सय रुपैयाँमा पाउने मललाई गाउँको सहकारी संस्थाले दुई हजार सात सयमा पनि नदिएको पीडा सुनाए।
‘नेताहरुलाई चुनाव लागेको छ, प्रशासनले पनि हाम्रो समस्याबारे कुनै चासो दिएको छैन’, यादवले भने।
सप्तकोसी नगरपालिका १ का लालबहादुर विष्टको समस्या पनि यादवको जस्तै छ। धान काटेर गहुँ लगाउने बेलामा मल नपाएका कारण खेत बाँझै राख्नुपर्ने अवस्था आएको उनले बताए।
कृषि सामग्री केन्द्र लिमिटेड उपशाखा कार्यालय राजविराजबाट उपलब्ध भएको थोरै डिएपी मल अत्यधिक महँगोमा बेच्ने गरिएको र अधिकांशले त्यो पनि नपाउने अवस्था रहेको किसानले गुनासो गरे।
जिल्लाका सहकारी संस्थाहरुले भने तीन–चार दिन धाएपछि मात्र लिमिटेड मार्फत थोरै परिमाणमा डिएपी मल पाउने गरेको र ढुवानी खर्च अत्यधिक हुँदा महँगोमा बेच्नुपरेको बताएका छन्।
कञ्चन सगरमाथा सहकारी संस्था लिमिटेड कञ्चनपुरका प्रमुख अविनास गुप्ताले भने, ‘कृषि सामग्रीबाट १० बोरा मात्र मल दिने गरिएको छ, ढुवानी भाडा नै २ हजार ५ सय परेपछि तोकिएको मूल्यमा कसरी वेच्न सकिन्छ?’
तिरहुत गाउँपालिका ४ डिमनस्थित माँ चण्डि कृषि सहकारी संस्था लिमिटेड अध्यक्ष विनोदकुमार देवले एकातर्फ ढुवानी भाडा महँगो पर्ने र अर्कोतर्फ १ हजार २ सय किसानलाई १० बोरा मल वितरण गर्नुपर्ने भएकाले मिलाउनै समस्या भइरहेको बताए।
कृषि सामग्रीका निमित्त प्रमुख सोनेलाल मुर्मुले सहकारीहरुले बढी मूल्य लिएर रासायनिक मल बेचेको विषयमा आफनो कार्यालयमा हालसम्म उजुरी नपरेको बताए। उनले केही परिमाणको मल कलकत्ता बन्दरगाहबाट आइपुगेको र एक सातापछि थप मल आएसँगै वितरण सहज हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।