त्रिशूली, नुवाकोट- गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिन आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पिपलटारसम्मको खण्डमा दैनिक ८ घन्टा सडक बन्द हुने भएको छ।
यतिबेला गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना अन्तर्गत सडक स्तरोन्नतिको काम तीव्र रुपमा अघि बढेको छ। प्रअिजको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले उक्त सडक तीन महिनाका लागि आंशिक बन्द गरी निर्माण अघि बढाउने निर्णय गरेको हो।
योजनाको निर्माण अपेक्षित रुपमा अघि बढ्न नसकेको र अप्ठेरा भीर काट्ने कामको सुरुआत हुन लागेकाले सडक बन्द गरिएको आयोजनाले जनाएको छ।
धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्म ८२ किमि सडकमध्ये ४६ किमि क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ। रु ९ अर्ब लगानी रहेको योजनाअन्तर्गत सडकको दायाँबायाँ पर्खाल लगाउने र सडक विस्तारको काम भइरहेको छ।
उत्तर–दक्षिण (चीन र भारत) जोड्ने छोटो नाकाका रुपमा रहेको यो सडक विस्तारलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पुस १ गतेदेखि फागुन मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपराह्न ४ बजेसम्म पिपलटारदेखि गल्छीसम्म बाटो पूर्ण रुपमा बन्द हुनेछ।
यो योजना २०७३ बैसाख २५ मा २७ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम सुरु भए पनि जग्गा अधिग्रहण, बिजुलीका खम्बा र वन क्षेत्रका कारण निर्माणमा ढिलाइ भइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।