फाइल तस्बिर।
काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको स्पष्ट दिशा निर्दिष्ट गरेको भन्दै त्यसमा अल्झिने विषयहरु नरहेको बताएका छन्।
आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान माथि संसद्मा उठेका प्रश्नहरुमाथि जवाफ दिदै अर्थमन्त्री खतिवडाले बजेटका कार्यक्रमहरु माथि भएका आलोचनाहरु आलोचनाकै लागि मात्र भएको पनि धारणा राखेका छन्।
‘संविधानले निर्दीष्ट गरेका राज्यका निर्देशक सिद्धान्त, मौलिक हकको कार्यान्वयन, दिगो विकास लक्ष्य, आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम, तीनखम्बे अर्थनीति लगायतका विषयलाई बजेटले आफ्नो मार्गदर्शक मानेको छ। सोही आधारमा बजेट आएको छ,’ अर्थमन्त्री खतिवडाले भने।
बजेटमाथि आएका सुझाव आफूले ग्रहण गरेको र त्यसलाई कार्यान्वयनका क्रममा ध्यान पुर्याउने उनको भनाई छ।
‘बजेट एक वर्षे योजना हो। त्यही अनुसार ल्याईएको छ। हामी समाजवजादको खुड्किला चढ्दा गन्तव्य बिर्सिएका छैनौं। आलोचनाकै लागि मात्रै केही विषय आएका छन। म त भन्छु बजेटका सकारात्मक कुरालाई स्वीकार पनि गर्नुस,’ खतिवडाले भने।
‘अल्मलिएको छ, छरपस्ट भएको छ भन्ने कुरा आलोचनाका लागि मात्रै आएका छन्। ती विषयलाई म आलोचना मात्रै भन्छु । तर, केही सुझाव पनि आएका छन्, त्यसलाई मैले गम्भीरताका साथ ध्यानमा राखेको छु,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।