नेपाली वस्तु राम्रो भएकोले यसको ब्रान्ड बनाउन आवश्यक : मन्त्री यादव

नेपाल लाइभ | २०७६ जेठ २३ बिहीबार | Thursday, June 06, 2019 ०८:३१:०० मा प्रकाशित

काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा ‘३०औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६’ सुरु भएको छ।

स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सो प्रदर्शनीको बुधबार एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरे।

उद्योग विभाग तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले नेपाली वस्तुहरु राम्रो रहेको उल्लेख गर्दै यसको ब्राण्ड बनाउन लागि पर्न सबै उद्योगीहरुलाई आह्वान गरे। नेपाली वस्तु राम्रो रहेको र यसको ब्रान्ड बनाउन आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले स्वदेशी वस्तुको उत्पादन बढाउन आवश्यक बजेट, नीति तथा कार्यक्रम ल्याएको बताए। उनले नेपाली वस्तुको निर्यात बढाउने गरी आगामी आर्थिक वर्षको बजेटमा भन्सार दरमा समायोजन तथा बैंकबाट सरल ब्याजमा कर्जा प्रवाहको व्यवस्था मिलाइएको पनि स्पष्ट पारे।

५ दिनसम्म चल्ने प्रदर्शनीमा ७७ वटै जिल्लाका घरेलु उत्पादनहरुको करिब २ सय वटा स्टलहरु राखिएका छन्। प्रदर्शनीको १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने तथा ५ करोड बढी आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।