रामपुर, पाल्पा- अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन्।
गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहुँदा साँझबिहानको गुजार चलाउन समस्या भएको छ।
गल्धाका अगुवा कृषक तेजन सुनारी बर्सेनि ४ सय धार्नीसम्म अदुवा उत्पादन गर्छन्। अदुवाबाट उनको घरखर्च राम्रोसँग चलेको थियो। तर दुई वर्षयता अदुवा बिक्री नहुँदा निकै समस्यामा छन्।
'गतवर्ष अदुवा बिक्री नभएपछि सुठो बनाएर राखेँ, त्यो पनि बिक्री भएन, अहिलेसम्म त्यत्तिकै छ,' उनले भने। उनले ३ सय धार्नीभन्दा बढी अदुवा उत्पादन गरेका छन्। तर अहिलेसम्म बिक्री भएको छैन। व्यापारीले रु २० रुपैयाँ धार्नीमा दिँदा पनि लिन नमानेपछि उत्पादन भएको अदुवा कुहेर जाने चिन्ता बढेको सुनारी बताउँछन्।
अर्का कृषक दिलबहादुर रानाले अहिले ३ सय धार्नी अदुवा उत्पादन गरेका छन्। तर बजारमा बिक्री गर्न नपाउँदा उनको मेहनत र लगानी खेर जाने भएको छ। रानाले गतवर्ष अदुवा बिक्री नभएपछि २ सय धार्नी अदुवा सुठो बनाएर राखे। त्यो सुठो बनाइएको अदुवा एक धार्नी पनि बिक्री नहुँदा उनी चिन्तित छन्।
अदुवा बिक्री नहुँदा साँझबिहानको गुजारा चलाउन निकै धौधौ परेको अर्का कृषक टोपबहादुर राना बताउँछन्।
अदुवा बिक्री गरेर साँझ बिहान खाद्यान्नको जोहो गर्दै आएका यहाँका कृषक दुई वर्षयता बजारमा बिक्री नहुँदा मारमा परेका छन्। व्यापारीले पनि कृषकबाट निकै सस्तो मूल्यमा खरिद गर्न खोज्ने र उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्ने प्रवृत्तिले अदुवाको लगानी र मेहनत अनुसारको भाउ कृषकले नपाएका हुन्।
जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवाखेतीलाई विस्तारका क्रममा सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघमार्फत अदुवाखेतीका लागि प्रवर्द्धन गरिएको छ। गल्धा, सहलकोट, बाकामलाङ, भैरवस्थान, पालुङमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङदी क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरिएको छ। जिल्लामा एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवाखेती गरिँदै आएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।