काठमाडौं– पशुपतिनाथ मन्दिरको मूल ढुकुटीमा चल सम्पत्तिका रुपमा ९ किलो २ सय ७६ ग्राम सुन देखिएको छ।
उक्त परिणाम विसं २०१९ देखि २०७५ सम्मको उल्लेख गरिएको छ। साथै, मन्दिरको नगद सम्पत्ति एक अर्ब २९ करोड ३८ रुपैयाँ रहेको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले जानकारी गराएको छ।
समितिले बुधबार पत्रकार सम्मेलन गरी मन्दिरको चल/अचल सम्पत्ति सार्वजनिक गरेको हो। उक्त प्रतिवेदन समितिले आज पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाललाई बुझाएको छ।
समितिले विसं २०१९ भन्दा अघि मन्दिरको सुन कति थियो भन्ने अभिलेख नदेखिएको जनाएको छ।
मन्दिरको नाममा रहेको नगद मध्येबाट एक अर्ब अक्षय कोष निर्माणका लागि राखिएको छ।
मन्दिर मातहतमा रहेका १ सय ९५ गुठीका तर्फबाट मन्दिरलाई प्राप्त हुने गरगरहना तथा जिन्सी सामान एकिन नभएको समितिले जनाएको छ।
गुठी संस्थानले मन्दिरको नाममा हुन आउने सम्पत्ति उपलब्ध नगराएको समितिले जनाएको छ। बम्बे ढुकुटी बापतको सम्पत्ति भान्छा घर भत्काइएकोले सम्भव नभएको बताइएको छ।
अचल सम्पत्तिका रुपमा मन्दिरको कोष मार्फत चार स्थानमा जग्गा रहेको छ। पशुपतिको नाममा दर्ता भएको जग्गा ३ हजार ६६७ रोपनी चार आना तीन पैसा देखिएको छ।
दर्ता प्रमाणित जग्गा २ सय ३१ रोपनी १० आना एक दाम देखिएको छ। त्रिभुवन विमानस्थल र गल्फ कोर्षका लागि मन्दिरको जग्गा ९९ वर्षको लागि लिजमा दिइएको छ।
उक्त जग्गा १ हजार १ सय ६१ रोपनी चौध आना ३ पैसा छ। पशुपतिको जग्गा तारा गाँउ रिजेन्सी मोहि बनेर प्रयोग गरिएको छ। तारागाँउ रिजेन्सी होटलले पशुपतिको १७ रोपनी जग्गा प्रयोग गरिरहेको छ।
गोठाटारमा कोषलाई सरकारले उपलब्ध गराएको ५ सय ३४ रोपनी जग्गा साथै पाटी पौवा र सत्तल गरि १ सय १९ रहेको जाँचबुझ समितिले उल्लेख गरेको छ।
गुठी अन्तर्गत पशुपतिको जग्गा ११ हजार २ सय ६१ रोेपनी तीन पैसा १ दाम रहेको छ।
गुठीबाट हुने आम्दानीको विवरण गुठी संस्थानबाट प्राप्त नभएको समितिले जनाएको छ।
पशुपतिनाथको सम्पत्ति अध्ययन तथा छानबिन गर्न पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलन कुमार थापा संयोजक रहेको छानबिन समिति गठन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।