विराटनगर– विराटनगर महानगरपालिकाका १४ कर्मचारीहरु तलब र नियुक्तिपत्रबिनै काम गर्न बाध्य भएका छन्। २०६८ सालदेखि सहरी स्वास्थ्य केन्द्रमार्फत काम सुरु गरेका ती कर्मचारी अझैसम्म नियुक्तिपत्र बिनै काम गर्न बाध्य भएका हुन्।
चौथो तहको कर्मचारीका रुपमा काम सुरु गरेका उनीहरुले अहिलेसम्म तह अनुसारको सेवा सुविधा पनि नपाएको बताए। चौथो तहका कर्मचारीले २२ हजार १ सय ५० रुपैयाँ तलब पाउने व्यवस्था छ।
अघिल्लो आर्थिक वर्षसम्म उनीहरुले १२ हजारमा सेवा गरिरहेका थिए। ०७५/७६ बाट मासिक १६ हजार ५ पाउने व्यवस्था महानगरले मिलाएको थियो। तर ५ महिनायता तलबबिनै काम गरिरहनुपरेको उनीहरु बताउँछन्।
‘यत्तिका वर्ष काम गर्दा पनि महानगरले अझैसम्म नियुक्तिपत्र दिएको छैन,’ नाम नखुलाउने सर्तमा एक कर्मचारीले भने, ‘मेयरको आफ्नो हठको कारण तलब र सुबिधाबाट हामी वञ्चित भइरहेका छौं।’
महानगरका मेयरले आलटाल गरेको कारण सम्झौता हुन नसकेको कर्मचारीहरुको भनाइ छ।
यता, आर्थिक वर्ष २०७५/७५ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सोही तहमा काम गरिरहेका कर्मचारीले भने २२ हजार १ सय ७० रुपैयाँ पारिश्रमिक पाइहेका छन्। काम सुरु गरेको केही दिनमै नियुक्तिपत्र पाएका उनीहरु अहिले बिनाकाम बसिरहेका छन्।
महानगरपालिकाका मेयर भीम पराजुलीको दबाबमा १० जनाको दरबन्दीमा २१ कर्मचारी नियुक्ति गरिएको थियो। स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले पठाएको पत्रको बेवास्ता गर्दै उनले दरबन्दी बाहेकका पद सिर्जना गरी आफन्तलाई समेत जागिर खुवाएका थिए। सबैले महानगरपालिकाबाटै नियुक्तिपत्र पाइसकेका छन्।
स्वास्थ्य सेवा विभाग अन्तर्गत प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा स्थापना हुने सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि भन्दै पहिलो पटक २०७४ साउन २९ को निर्णय अनुसार महानगरपालिकालाई ९८ लाख २५ हजार पठाएको थियो।
दुवै कर्मचारी स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य सेवा विभाग मातहतका हुन्। एउटै विभाग र एउटै तहका कर्मचारीमाथि फरक व्यवहार र सुविधा भएको भन्दै ती १४ पीडित कर्मचारीहरु आन्दोलनको तयारीमा छन्। केही दिनदेखि आजभोलि भन्दै मेयर पराजुलीले झुलाइरहेको उनीहरुको आरोप छ। आफूहरुलाई स्वास्थ्य शाखाको तर्फबाट नियुक्तिपत्र लिन भने पनि महानगरले नै दिनुपर्ने माग राखेको उनीहरु सुनाउँछन्।
२०६८ सालदेखि सोही कार्यक्रममार्फत काम गरिरहेकी एक कर्मचारीले आफूहरुले ३ महिनादेखि तलब नपाएको बताइन् ।
०७५ असार मसान्तसम्म १२ हजारमा काम गरिरहेको र त्यसपछि १६ हजार ५ सय दिने भनिए पनि अहिलेसम्म सम्झैता नगरेको उनको भनाइ छ । ‘बिना सम्झैता र नियुक्तिपत्र बेगर काम गरिरहनुपर्ने बाध्यतामा हामी फसेका छौं,’ उनले भनिन्।
सुरुदेखि नै अनमीको पदमा जिम्मेवारी सम्हालेकी एक कर्मचारी भने उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले नियुक्तिपत्र दिने र मासिक तलब पनि उपलब्ध गराउने भनेपनि मेयरको हठको कारण आफूहरुलाई तनाव भएको बताउँछिन्।
वडा क्लिनिकदेखि प्राथमिक स्वास्थ्य केन्द्रसम्म काम गर्ने गरेका उनीहरु अहिले तलब पाउनुपर्ने माग गर्दै आन्दोलनमा छन् । उनीहरुले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने लगायतका दबाबमूलक काम गर्दै आएका छन्।
‘मेयर साब र उपमेयरसँग पनि कुरा गर्यौं, केही काम हुन सकेन,’ उनीहरु भन्छन्, ‘मेयरबाटै कुनै प्रतिक्रिया आउँदैन।’
एक हप्तादेखि आफ्ना समस्या समाधानका लागि महानगरको कार्यलयमा धाइरहे पनि मेयरसँग भेट नभएको उनीहरुको भनाइ छ। आफूहरुलाई यसरी नै बेवास्ता गरिरहे चरणबद्ध आन्दोलन थाल्ने उनीहरुले चेतावनीसमेत दिए।
यस विषयमा कुरा गर्न खोज्दा मेयर पराजुलीसँग सम्पर्क हुन सकेन।
प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीका अनुसार यो सुरुदेखिकै समस्या हो। आफू आएको केही एक महिना मात्र भएको भन्दै उनले भने, 'म कर्मचारीकै पक्षमा छु। नियुक्तिपत्र र तलबको समस्या एकैपटक हल हुन्छ। बीचमा केहि त्रुटि रहेकोले त्यसलाई मिलाउन म आफै पनि लागिरहेको छु।'
उता उपमेयर इन्दिरा कार्कीले भने आफूहरु कर्मचारीको समस्याका विषयमा जानकार रहेकाले यसको चाँडै समाधान निस्कने बताइन्।
यो पनि-
विराटनगरका मेयरको बदमासी : १० जनाको दरबन्दीमा २१ कर्मचारी भर्ती, मेयरकी भान्जीदेखि पत्रकारकी श्रीमतीसम्म
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।